पर्सा । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु. २६ अर्ब १३ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको छ ।
गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ अर्ब ९४ करोड अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु. १९ अर्ब १९ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको बताए । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयातबाट मात्रै रु. १८ अर्ब २२ करोड राजस्व संकलन भएको छ । जबकि गत आवको सोही अवधिमा भने सवारीसाधन आयातबाट मात्रै रु. १४ अर्ब ८४ करोड राजस्व संकलन भएको थियो ।
चालु आवको नौ महिनामा रु. एक अर्ब १७ करोड मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु. एक अर्ब ६६ करोड मूल्य पर्ने ८०५ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । चालु आवको नौ महिनामा रु. छ अर्ब ४२ करोड मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने रु. चार अर्ब ६७ करोड मूल्य पर्ने ३५ हजार ७९९ वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ ।
त्यस्तै चालु आवको नौ महिनामा रु. दुई अर्ब चार करोड मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा लिटर आयात भएको छ । जबकि गत आवको नौ महिनामा भने रु. एक अर्ब ३५ करोड मूल्य पर्ने १३ हजार ८६१ वटा ट्याक्टर तथा लिटर आयात भएको छ ।
चालु आवको नौ महिनामा रु. दुई अर्ब ९८ करोड मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ । गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशत अर्थात् रु. एक अर्ब ५० करोड बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने रु. एक अर्ब ४८ करोड मूल्यका विद्युतीय सवारीसाधनको आयात भएको छ ।
चालु आवको नौ महिनामा रु. एक अर्ब ४६ करोड मूल्य पर्ने ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने रु. ४८ करोड मूल्य पर्ने १७२ वटा विद्युतीय चल्ने जिप, कार र भ्यान आयात भएको थियो ।







