काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने धानखोला-लमही सडक खण्डको स्तरोन्नति तथा मर्मत कार्य बुधबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ। करिब ४० किलोमिटर लम्बाइको उक्त सडक सुधार कार्य एमसीए नेपालले अघि बढाएको हो।
आयोजना कार्यान्वयनका क्रममा नेपालमै पहिलो पटक फुल डेप्थ रिक्लेमेसन (एफडीआर) र सुपरपेभ एस्फाल्ट जस्ता आधुनिक निर्माण प्रविधि प्रयोग गरिने जनाइएको छ।
यी प्रविधिको प्रयोगले सडकलाई बढी मजबुत, टिकाउ र दीर्घकालीन बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सडक पूर्वाधारको गुणस्तर सुधार तथा दीर्घकालीन टिकाउ सुनिश्चित गर्न आधुनिक प्रविधि प्रयोग हुनु सकारात्मक भएको टिप्पणी गरे।
त्यस्तै, नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको लगानीले ढुवानी लागत घटाउने, सुरक्षा अवस्था सुधार गर्ने तथा स्थानीय समुदायलाई बजार र आर्थिक अवसरसँग जोड्न सहयोग पुग्ने बताए।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकालले आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।
एमसीसीका राष्ट्रिय आवासीय उप-निर्देशक सञ्जय पौड्यालले यो परियोजनाले आधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी र लागत अनुकूल पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिबद्धता झल्काएको बताए।
त्यसैगरी एमसीए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले आयोजना पारदर्शी, गुणस्तरीय र समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख गरे।







