काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले सातै प्रदेशमा ८३८ जना विशेषज्ञ चिकित्सक खटाएको छ ।
मन्त्रालयका अनुसार खटाइएका चिकित्सकमध्ये एमडी उत्तीर्ण ६१८, एमएस उत्तीर्ण १६८ र एमडीएस उत्तीर्ण ५२ जना छन् ।
प्रदेशगत रूपमा सबैभन्दा बढी बागमतीमा २०८, कोशीमा १५४, लुम्बिनीमा १३३, गण्डकीमा १२९, मधेशमा ८६, सुदूरपश्चिममा ७६ र कर्णालीमा ५२ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् ।
प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाका लागि कोशीमा ९६, मधेशमा ५४, बागमतीमा ११५, गण्डकीमा ८१, लुम्बिनीमा ८४, कर्णालीमा ३० र सुदूरपश्चिममा ५१ गरी ५११ जना विशेषज्ञ चिकित्सक खटाइएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ कोशीमा ५८, मधेशमा ३२, बागमतीमा ९३, गण्डकीमा ४८, लुम्बिनीमा ४९, कर्णालीमा २२ र सुदूरपश्चिममा २५ गरी ३२७ जना विशेषज्ञ चिकित्सक खटाइएका छन् ।
संघीय सरकारले प्रदेशमा खटाएका चिकित्सकलाई सम्बन्धित प्रदेश सरकारले आफ्नो आवश्यकता, प्राथमिकता र कार्यक्षेत्रका आधारमा स्थानीय तहका स्वास्थ्य संस्थामा समेत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ ।
विशेषज्ञताका आधारमा एनेस्थेसियातर्फ ८८, स्त्री तथा प्रसूति रोगमा ८१, जनरल सर्जरीमा ७२, हाडजोर्नीमा ७०, मेडिसिनमा ६७, जनरल प्राक्टिस तथा इमर्जेन्सी मेडिसिनमा ६२, आँखामा ६२, बालरोगमा ६०, दन्तमा ५२, मानसिक रोगमा ३२ र अन्य विधामा १९२ जना चिकित्सक खटाइएका छन् ।
विशेषज्ञ चिकित्सकको परिचालनबाट सुरक्षित प्रसूति सेवा, शल्यक्रिया, आकस्मिक उपचारलगायतका स्वास्थ्य सेवा थप सुदृढ हुने मन्त्रालयको अपेक्षा छ ।
यस व्यवस्थाबाट नागरिकले विशेषज्ञ उपचारका लागि काठमाडौँ तथा अन्य ठूला सहर धाउनुपर्ने बाध्यता क्रमशः घट्दै जाने मन्त्रालयले जनाएको छ ।









