काठमाडौँ । गोकर्णेश्वर महादेव मन्दिर परिसरभित्रको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाई क्षेत्र व्यवस्थित गर्न स्थानीयवासी तथा भक्तजनले पुनः माग गरेका छन्।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेको उक्त क्षेत्र वर्षौंदेखि अतिक्रमणको समस्याबाट प्रभावित रहेको बताइन्छ। मन्दिर परिसरमा स्थान अभाव हुँदा यहाँ आयोजना हुने धार्मिक अनुष्ठान, पर्व तथा सांस्कृतिक गतिविधि सञ्चालनमा असहजता देखिँदै आएको सरोकारवालाले जनाएका छन्।
गोकर्णेश्वर नगरपालिका-४ मा पर्ने यस क्षेत्रमा विशेष गरी भाद्र कृष्ण औँसीका अवसरमा लाग्ने मेलामा भीड व्यवस्थापन कठिन हुने गरेको छ। त्यस्तै, आश्विन कृष्ण पक्ष अर्थात् पितृ पक्षका कर्मकाण्ड तथा पौष कृष्ण औँसीमा समेत हजारौँ भक्तजन आउने हुँदा पर्याप्त खुला स्थानको अभाव महसुस हुने गरेको स्थानीयको भनाइ छ।
वडा अध्यक्ष जयराम महतका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरी १४ वटा घर निर्माण भएका छन्। मन्दिरमाथि करिब ६५० रोपनी क्षेत्रफलमा सामुदायिक वन रहेको र यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा निजामती स्मारक निर्माण कार्य जारी रहेको जानकारी दिइएको छ।
सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुदर्शन सिग्देलले मन्दिरसँग जोडिएको सार्वजनिक जग्गामा बनेका ती घर पछिल्लो समय सहयोगी माध्यमिक विद्यालयलाई भोगाधिकार दिइएको बताए। उनका अनुसार क्षेत्रलाई व्यवस्थित बनाउने प्रयास पहिलेदेखि हुँदै आए पनि कार्यान्वयन हुन सकेको छैन।
मन्दिर क्षेत्र व्यवस्थापनसम्बन्धी प्रस्ताव काठमाडौँ उपत्यका विकास प्राधिकरणसम्म पुगेको थियो। त्यसक्रममा तत्कालीन विकास आयुक्त भाइकाजी तिवारीले अतिक्रमित संरचना हटाई सुन्दरी जलतर्फ जाने सडकको व्यवस्थापनसमेत गरी क्षेत्र सुधारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइन्छ। तर आवश्यक स्थानीय समन्वय अभावका कारण योजना अघि बढ्न नसकेको गोकर्णेश्वर मन्दिर जीर्णोद्धार एवं छाना पुनर्निर्माण समितिका अध्यक्ष कोमल बहादुर विष्टले बताए।
वडा कार्यालयका अनुसार मन्दिर क्षेत्रको जग्गामा घर बनाएका कतिपय व्यक्तिको अन्यत्र पनि घरजग्गा रहेको छ। अन्य स्थानमा अतिक्रमित संरचना हटाउने अभियान चलिरहेका बेला यस क्षेत्रका निर्माणसमेत खाली गराइनुपर्ने स्थानीय र दैनिक दर्शनार्थीको माग छ।







