काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बाढी, पहिरो तथा अन्य प्राकृतिक जोखिमयुक्त क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताएका छन्।
रास्वपाको पार्टी-संसद्-सरकार समन्वय समितिद्वारा आयोजित ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ विषयक नीति मन्थन कार्यक्रममा बोल्दै उनले खोला किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकलाई प्राथमिकताका आधारमा व्यवस्थापन गर्न सरकार सक्रिय रहेको बताए।
लामिछानेका अनुसार सरकारले भूमिहीन नागरिकको अधिकार सुनिश्चित गर्ने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको छ। जोखिमपूर्ण स्थानमा नागरिकलाई यथावत् बस्न दिनुभन्दा सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै जिम्मेवार कदम भएको उनले धारणा राखे।
उनले जोखिम क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको पुनर्स्थापनालाई व्यवस्थित, सुरक्षित र मानवीय बनाउने विषयमा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
सभापति लामिछानेले नागरिकको संवेदनशील विषयलाई राजनीतिक लाभका लागि प्रयोग गर्नु उचित नभएको बताए। उनका अनुसार वर्षौँदेखि असुरक्षित, प्रदूषित र अस्वस्थ वातावरणमा जीवन बिताइरहेका नागरिकको अवस्थाप्रति पर्याप्त ध्यान नदिइएको अवस्थामा अहिले समाधानका लागि चालिएका कदममाथि मात्रै आलोचना हुनु न्यायोचित नहुने टिप्पणी गरे।
उनले विपद् जोखिममा रहेका नागरिकको जीवन र सम्पत्तिको सुरक्षालाई राजनीतिक प्रतिस्पर्धाको विषय बनाउन नहुने उल्लेख गर्दै सत्ता पक्ष र प्रतिपक्षबीच यस विषयमा साझा दृष्टिकोण आवश्यक रहेको बताए।
कार्यक्रममा उनले सीमित स्रोतसाधनका बाबजुद विपद् व्यवस्थापनमा खटिने निकायहरूको क्षमता एकीकृत गर्दै क्षति न्यूनीकरणमा केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याए।
त्यस अवसरमा पार्टीका महामन्त्री तथा पार्टी-संसद्-सरकार समन्वय परिषद्का संयोजक भूपदेव शाहले प्राकृतिक विपद्बाट हुने मानवीय तथा भौतिक क्षति कम गर्ने उद्देश्यले नीति मन्थन आयोजना गरिएको जानकारी दिए।
उनका अनुसार पार्टी, संसद् र सरकारबीच प्रभावकारी समन्वय अभाव हुँदा नीति र कार्यान्वयनबीच दूरी बढ्ने भएकाले तीनै पक्षबीच सहकार्य मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको हो।
शाहले छलफलबाट प्राप्त सुझावलाई सांसदका लागि तथ्यगत आधार तथा मन्त्रीहरूका लागि कार्ययोजनाको मार्गदर्शनका रूपमा उपयोग गरिने बताए। उनले विपद् व्यवस्थापनमा पूर्वतयारी र पूर्वसतर्कताको संस्कार विकास गर्नुपर्नेमा पनि जोड दिए।
उनका अनुसार रास्वपाले आफ्ना स्वयंसेवकलाई उद्धार तथा राहत कार्यमा स्थानीय स्तरमै परिचालन गर्न सकिने गरी प्रशिक्षण दिने तयारी गरेको छ। साथै स्थानीय सूचना संयन्त्रलाई पूर्वचेतावनी प्रणालीका रूपमा प्रयोग गर्ने योजना पनि अघि बढाइएको उनले बताए।
आगामी मनसुनमा बाढी, पहिरो तथा सरुवा रोगबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि प्राप्त सुझावका आधारमा सरकारलाई रचनात्मक सहयोग गरिने पनि शाहले उल्लेख गरे।







