काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा सांसद गगनकुमार थापा ले पछिल्लो निर्वाचन परिणामलाई अप्रत्याशित भए पनि त्यसबाट पाठ सिक्दै राजनीतिक दलहरू आत्मसमीक्षासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
कोशी प्रदेशस्तरीय एक भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ मा सम्पन्न निर्वाचनको नतिजाले दलहरूको कार्यशैलीप्रति नागरिक तहमा देखिएको असन्तुष्टिलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बताए । उनका अनुसार परिणामलाई सामान्य रूपमा लिएर होइन, गहिरो विश्लेषण गरेर आगामी रणनीति तय गर्नुपर्ने अवस्था छ ।
थापाले २०७२ सालमा संविधान निर्माण र शान्ति प्रक्रियाको औपचारिक टुंगोपछि राजनीतिक दलहरूले नागरिक विश्वास केही हदसम्म प्राप्त गरेको भए पनि त्यसपछि अपेक्षाहरू क्रमशः बढ्दै गए पनि राजनीतिक व्यवहार र अभ्यासमा अपेक्षित सुधार नदेखिएको टिप्पणी गरे । २०७४ पछिको राजनीतिक यात्रामा जनअपेक्षा बढे पनि दलहरूको कार्यशैली त्यसअनुसार परिमार्जन हुन नसकेको उनको भनाइ थियो ।
उनले नागरिक तहमा लामो समयदेखि जम्मा हुँदै आएको असन्तुष्टि अन्ततः निर्वाचनमार्फत प्रकट भएको उल्लेख गर्दै जनमतलाई गम्भीर संकेतका रूपमा लिनुपर्ने बताए ।
त्यस अवसरमा उनले प्रमुख राजनीतिक दलहरूको आन्तरिक प्रक्रियाप्रति पनि टिप्पणी गर्दै चुनावअघि गरिएका अधिवेशन र संगठनात्मक गतिविधिले दलहरूमा अपेक्षित स्थायित्व कायम गर्न नसकेको दाबी गरे । उनका अनुसार यस्तो अभ्यासले दलहरूको आन्तरिक संरचना र राजनीतिक दिशामा समेत असर पारेको देखिएको छ ।







