काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्तासमेत रहेका सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ ।
सोमबार राखेपले प्रवक्ता लामालाई पत्र लेख्दै फिर्ता बोलाइएको जानकारी गराएको हो।
नेपाल क्रिकेट संघको विधान २०५५ को परिच्छेद २ को दफा ३ उपदफा (४) मा राखेपबाट संघको पदेन सदस्यमा पदमा मनोनयन गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार लामालाई २ वर्षअघि क्यानको सदस्य मनोनीत गरिएको थियो ।
‘विधानको दफा ३ को उपदफा (४) को व्यवस्था अनुसार संघको परिषद् प्रतिनिधि सदस्यको जिम्मेवारीबाट नीति २०८३/२/११ गते देखि लागु हुने गरी फिर्ता बोलाइएको ब्यहोरा मिति २०८३/२/११ को निर्णयानुसार जानकारी गराइन्छ’ पत्रमा उल्लेख गरिएको छ ।
राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, २०८३ जेठ ११ गतेको निर्णय बमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको छ।







