काठमाडौँ । नेपाल ओलम्पिक कमिटीले आगामी एसियाली खेलकुद तथा ओलम्पिक प्रतियोगिताका लागि चिनियाँ खेल सामग्री ब्रान्ड ‘पेलियट’सँग प्रायोजन सम्झौता गरेको छ।
सातदोबाटोस्थित एनओसी भवनमा आयोजित कार्यक्रममा पेलियटका उपाध्यक्ष चाओ ली तथा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार पेलियटले २०औँ एसियाली खेलकुद तथा सन् २०२८ मा आयोजना हुने लस एन्जलस ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडीलाई आवश्यक खेल सामग्री तथा पोशाक उपलब्ध गराउनेछ।
यससँगै नेपाल ओलम्पिक कमिटीले पनि आफ्ना विभिन्न प्रचारप्रसारका माध्यममा पेलियट ब्रान्डलाई समावेश गर्ने सहमति भएको जनाइएको छ।
यसअघि गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि उक्त कम्पनीले नेपाली खेलाडीलाई खेल सामग्री उपलब्ध गराएको थियो।
सम्झौतापछि एनओसी अध्यक्ष श्रेष्ठले एसियाली खेलकुददेखि लस एन्जलस ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डका पोशाक प्रयोग गर्ने जानकारी दिए।







