काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत जारी एलिमिनेटर खेलमा राजस्थान रोयल्सका युवा ब्याटर वैभव सूर्यवंशीले नयाँ कीर्तिमान कायम गरेका छन्। १५ वर्षीय सूर्यवंशीले एकै सिजनमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।
मुल्लाम्पुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सनराइजर्स हैदराबादविरुद्ध भइरहेको खेलमा राजस्थानले टस गुमाएपछि पहिले ब्याटिङ गरिरहेको छ। टोलीका लागि यशस्वी जैसवालसँगै क्रिजमा उत्रिएका सूर्यवंशीले आक्रामक प्रदर्शन गर्दै पुरानो रेकर्ड भंग गरेका हुन्।
यसअघि सन् २०१२ मा क्रिस गेलले एकै सिजन ५९ छक्का प्रहार गर्दै बनाएको कीर्तिमान कायम रहेको थियो। सूर्यवंशीले उक्त खेलमा आफ्नो ६०औँ छक्का प्रहार गर्दै त्यो उपलब्धि पार गरेका हुन्।
एलिमिनेटर चरणको यस प्रतिस्पर्धामा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ भने विजेता टोलीले मे २९ मा गुजरात टाइटन्ससँग क्वालिफायर-२ खेल्ने तालिका रहेको छ।







