काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरे पाएका छन् । यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी सरकारको प्रवक्ता थिए ।
नेकपा एमालेले मन्त्री पन्थीलाई सरकारबाट फिर्ता बोलाएपछि आजको मन्त्रिपरिषद् बैठकले नवनियुक्त स्वास्थ्य मन्त्री घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।
बैठकले सामाजिक विकास मन्त्रालयबाट पेस भएको सडक आश्रित मानव व्यवस्थापन कार्यविधि, २०८३ लाई कानुन सचिवको परामर्श लिएर स्वीकृत गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पेस भएको अध्ययन पूर्वस्वीकृति तथा अध्ययन बिदा स्वीकृतिसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले बर्दिया अस्पताल, गुलरियामा प्रदेश स्वास्थ्य सेवा, मेडिकल जनरलिस्ट समूह, एघारौँ तहका डा. सुवास पाण्डेलाई पदस्थापन गर्ने निर्णय गरेको छ ।






