काठमाडौँ । नेपाली सेनाले डोटीस्थित ऐतिहासिक महत्व बोकेको तिखागढीको मर्मत कार्य सम्पन्न गरी स्थानीय तहलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।
सेनाको ५ नम्बर बाहिनीका बाहिनीपति सरोजकुमार अधिकारीले दिपायल-सिलगढी नगरपालिकाका प्रमुख विजय खड्कालाई उक्त संरचना हस्तान्तरण गरेका हुन्। कार्यक्रममार्फत गढी संरक्षण र व्यवस्थापनको जिम्मेवारी अब नगरपालिकालाई सुम्पिएको छ।
सेनाका अनुसार आफ्नै स्रोतसाधन प्रयोग गरी “शीघ्र प्रभावी आयोजना” अन्तर्गत भैरव दल गणको प्राविधिक तथा श्रमशक्तिबाट तिखागढीको मर्मत तथा संरक्षण कार्य सम्पन्न गरिएको हो।
ऐतिहासिक रूपमा तिखागढी प्राचीन डोटी राज्यकालीन सैन्य संरचना मानिन्छ, जुन दिपायल–सिलगढी नगरपालिका-१ स्थित तिखा गाउँको माथिल्लो डाँडामा अवस्थित छ।
स्थानीय सम्पदाको संरक्षण र पुन:जीवन दिने उद्देश्यसहित गरिएको यो कार्यले क्षेत्रीय ऐतिहासिक सम्पदाको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।







