काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपालमा व्यावसायिक र विशिष्टीकृत अदालती रिपोर्टिङको आवश्यकता रहेको बताएका छन् ।
शुक्रवार सर्वोच्च अदालतमा आयोजित ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाको गरिमा र कानूनी जटिलतालाई बुझेर गरिने रिपोर्टिङले मात्र लोकतन्त्रलाई बलियो बनाउने धारणा व्यक्त गरेका हुन्।
न्यायाधीश फुयाँलले हाल मूलधारका सञ्चारमाध्यमले गर्ने रिपोर्टिङमा संस्थागत वैचारिक झुकाव (इन्क्लिनेसन) देखिने गरेको र त्यसले अदालतको वास्तविक छविमा असर पुर्याउने गरेको बताए ।
अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै उनले भारतका ‘लाइभ ल’ र ‘बार एण्ड बेन्च’ जस्ता सञ्चार माध्यमहरूले केवल न्यायपालिका र कानूनी क्षेत्रका समाचार मात्र सम्प्रेषण गर्ने गरेको उल्लेख गरे । नेपालमा पनि त्यस्तै विशिष्टीकृत पोर्टलहरूको आवश्यकता रहेको र त्यस्ता माध्यममा कानुनी क्षेत्रमै अभ्यस्त भएका व्यक्तिहरूले रिपोर्टिङ गर्दा सूचनाको आधिकारिकता बढ्ने उनको तर्क छ ।
न्यायाधीश फुयाँलले भने, ‘मूलधारका मिडियाको आफ्नै निश्चित दृष्टिकोण र धार हुन्छ, जसको प्रभाव अदालती रिपोर्टिङमा पर्दा कहिलेकाहीँ न्यायपालिका र न्यायाधीशहरू मारमा पर्ने गरेका छन् । त्यसैले पत्रकार साथीहरूलाई हाम्रो आग्रह छ, समाचार सम्प्रेषण गर्दा कुनै धार नसमाती विषयवस्तुलाई जस्ताको तस्तै प्रस्तुत गरिदिनुहोस् । विशिष्टीकृत कानूनी पोर्टलहरूले मूलधारका सञ्चारमाध्यमका लागि पनि आधिकारिक स्रोतको रूपमा काम गर्छन् । यसले गर्दा अन्य सञ्चारमाध्यमले पनि ती सूचनालाई सन्दर्भका रूपमा प्रयोग गर्न सक्छन् । नेपालमा पनि केही पत्रकारहरूले यसको सुरुवात गरिसक्नुभएको छ, तर यसलाई अझ व्यावसायिक र व्यापक बनाउन ढिला भइसकेको छ ।’
डिजिटल क्षेत्र र सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण नेपालको अदालती रिपोर्टिङ पनि ढिलो चाँडो विशेषज्ञता र विशिष्टीकरणको दिशामा अगाडि बढ्ने विश्वास उनले व्यक्त गरे । अदालतले पनि पत्रकारहरूलाई अन्तर्राष्ट्रिय स्तरको कानूनी र न्यायिक रिपोर्टिङको अभ्यासका बारेमा जानकारी गराउने प्रयास गरिरहेको उनले जानकारी दिए ।






