काठमाडौँ । महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ विद्युतीय हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।
अनियन्त्रित भएको हाइस सुरुमा घरको गेटमा ठोक्किएको थियो। त्यसपछि गेटछेउमा पार्किङ गरिएको बा १८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किँदा दुर्घटना भएको हो। कारमा सामान्य क्षति पुगेको छ।
दुर्घटनामा हाइसका चालक महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला गम्भीर घाइते भएका छन्। उनको किस्ट अस्पतालमा उपचार भइरहेको छ।
महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जनको अवस्था पनि गम्भीर छ। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।
मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्दै आएकी १८ वर्षीया एलिसा लामा मध्यम घाइते भएकी छन्। महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जनको अवस्था भने सामान्य छ। दुवै जनाको किस्ट अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनाका बेला हाइसमा चार जना मात्र सवार थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।






