काठमाडौँ । तनहुँको देवघाट गाउँपालिका-१ का १० भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवार जग्गाधनी बनेका छन्।
जिल्ला भूमि समस्या समाधान समिति, तनहुँले लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको हो।
लालपुर्जा प्राप्त गरेसँगै ती परिवारले आफूले बसोबास तथा उपयोग गर्दै आएको जग्गामाथि कानुनी स्वामित्व पाएका छन्। लामो समयदेखि जग्गाको स्वामित्व नहुँदा भोग्दै आएको समस्या लालपुर्जा प्राप्तिपछि समाधान हुने अपेक्षा गरिएको छ।
भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ। सोहीअनुसार उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यले जग्गाधनी पुर्जा वितरणको काम अघि बढाइएको हो।
भूमिहीन परिवारलाई जग्गाको स्वामित्व उपलब्ध गराउने प्रक्रियालाई प्रभावकारी बनाउँदै दीर्घकालीन रूपमा भूमिसम्बन्धी समस्या समाधान गर्ने सरकारी लक्ष्यअनुसार तनहुँमा पनि लालपुर्जा वितरण गरिएको हो।






