ललितपुर । कान्तिलोक पथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको छ । यद्यपि जोखिमलाई ध्यानमा राख्दै रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको कान्ति लोक पथ आयोजनाले जनाएको छ ।
लगातारको वर्षापछि कान्ति लोक पथको बिर्खे धारा, पाङ्दुर र टाकुर्चेमा पहिरो गएपछि शुक्रबार दिनभरि नै सवारीसाधन सञ्चालन हुन सकेको थिएन । शनिबार बिहानैदेखि पहिरो पन्छाएर दिउँसोपछि रोकिएका सबै सवारीसाधन गन्तव्यतर्फ पठाइएको आयोजनाका सुपरभाइजर दीपक घिमिरेले जानकारी दिए ।
मौसमविद्ले भोलिसम्म नै भारी वर्षाको जोखिम औँल्याएकाले जिल्ला प्रशासन कार्यालयले रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । बिहीबारदेखि रातको समयमा सवारी सञ्चालनमा रोक लगाएको ललितपुर जिल्ला प्रशासनले शुक्रबार दिउँसोसमेत सवारी सञ्चालनमा रोक लगाएको थियो ।
रातको समयमा जोखिम हुने भएपछि काठमाडौँबाट छुटेका सवारीसाधनलाई टीका भैरवबाट उता जान रोक लगाइएको छ भने मकवानपुरबाट आउने सवारीसाधनलाई चौगडामै रोकिएको प्रमुख जिल्ला अधिकारी नरहरी घिमिरेले बताए ।
सुपरभाइजर घिमिरेका अनुसार कान्ति लोक पथको २७ ठाउँ जोखिमयुक्त क्षेत्र मानिएको छ । त्यसमध्ये भैँसे खोलादेखि बगुवासम्म विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको उनले जानकारी दिए । उनले भने, “भैँसे खोला, बिर्खे धारा, नयाँ गाउँ, कार्कीबास, टाकुर्चे, पाङदुर, तामा खानी, काल्चे, माल्टा दोबाटोलगायत विभिन्न २७ ठाउँमा पहिरोको उच्च जोखिम छ ।” अवरोध भएको सडक खण्डमा पहिरो हटाउनका लागि स्काभेटर तयारी अवस्थामा राखिएको उनले जानकारी दिए ।






