काभ्रे । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा भइरहेको राजनीतिक सहकार्यलाई स्थानीय निर्वाचनसम्म विस्तार गर्नुपर्ने बताएका छन् ।
धुलिखेलमा आज आयोजित एकता बैठक तथा शपथ ग्रहण समारोहमा उनले प्रदेश सरकारको सहकार्यलाई सरकार सञ्चालनमा मात्र सीमित नराखी राजनीतिक तथा वैचारिक रूपमा थप सुदृढ गर्नुपर्नेमा जोड दिए ।
“यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ”, उनले भने । उनले बदलिँदो राजनीतिक परिस्थितिअनुसार सङ्गठन विस्तारलाई प्राथमिकता दिनुपर्ने बताए । सूचना प्रविधिको प्रयोगमार्फत पार्टीको विचार र संगठन विस्तार गर्न सकिने उल्लेख गर्दै उनले उपलब्ध जनशक्ति, सङ्गठन र क्षमताको प्रभावकारी उपयोग गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
सो अवसरमा उनले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकासले रोजगारी, मानवीय सोच र सिर्जनशीलतामा पार्न सक्ने प्रभावबारे पनि चर्चा गरे । एआईमा अत्यधिक निर्भर हुँदा मानिसको अध्ययन तथा सोच्ने अभ्यास कमजोर हुनसक्ने र प्रविधिका कारण श्रमिक विस्थापित हुने अवस्था आउन सक्ने उनले भने ।
विश्वका विभिन्न मुलुकले एआईबाट उत्पन्न हुनसक्ने चुनौती सम्बोधन गर्न नीति तथा कार्यक्रम अघि बढाइरहेको उल्लेख गर्दै उनले नेपालमा पनि प्रविधिको विकाससँगै त्यसका सामाजिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निराश नभई अनुशासित र धैर्यतापूर्वक संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरे ।



