काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि असोज २२ गते मतदान हुने भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज २० गते उम्मेदवारी दर्ता र २१ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
मतदान असोज २२ गते बिहान ७:३० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, खुलामञ्च र कमलादीस्थित प्रज्ञा भवनमा तोकिएका केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ।
असोज १९ गते मतदाता नामावली
निर्वाचन समितिले असोज १९ गते साँझ ५ बजे मतदाता नामावली प्रकाशन गर्नेछ। नामावलीमाथि सोही दिन साँझ ५ बजेदेखि ६:३० बजेसम्म दाबी विरोध गर्न सकिनेछ।
दाबी विरोधमाथि साँझ ६:३० देखि ७:३० बजेसम्म जाँचबुझ गरी राति ८:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ।
मनोनयनदेखि अन्तिम नामावलीसम्म
उम्मेदवारीको दरखास्त तथा मनोनयन पत्र असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दर्ता गर्न सकिनेछ। सोही दिन अपराह्न ४:३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन हुनेछ।
उम्मेदवारीमाथि अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म दाबी विरोध गर्न समय दिइएको छ। त्यसपछि साँझ ६:३० बजेसम्म जाँचबुझ गरी ७ बजे दोस्रो नामावली प्रकाशन गरिनेछ।
उम्मेदवारी फिर्ता लिन वा सच्याउन असोज २१ गते बिहान ९ बजेसम्म निवेदन दिन सकिनेछ। बिहान १० बजे अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारलाई सोही दिनभर प्रचारप्रसारका लागि समय दिइनेछ।





