बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका-६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ ।
वर्षाको समयमा उक्त सडक खण्डमा पर्ने ज्यामिरे खोलामा पानीको बहाव बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो खसेर बाटो भत्केका कारण सवारीसाधन सञ्चालन हुन सकेको थिएन । उक्त सडकखण्डको हाल सरसफाइ तथा मर्मत सुरु गरिएको छ ।
सुदाबाट करिब १२ किलोमिटर दूरीको सडक अवरुद्ध हुँदा यस क्षेत्रका ज्यामिरेसहित गढवान, तिखुली, जसपालका बासिन्दा समस्यामा परेको गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिए ।
बाटो सहज नहुँदा ज्यामिरे क्षेत्रमा जमिन चिराचिरा परेर समस्यामा परेका स्थानीयका लागि राहत सामग्री पुर्याउन असहज भएको उनको भनाइ छ ।



