काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको परम्परागत गुटको विकल्पमा नीतिगत बहस र वैचारिक राजनीति अघि बढाउनुपर्ने बताएका छन्।
आन्तरिक लोकतन्त्र सुदृढ बनाउन फरक मत, प्रश्न र विमतिलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
पार्टीको १५औँ महाधिवेशनको बन्द सत्रलाई सोमबार सम्बोधन गर्दै शर्माले गुट अन्त्य गर्ने नाममा विचार र बहसलाई निषेध गर्न नहुने बताएका हुन्।
“लोकतन्त्रमा फरक विचार र विमति स्वाभाविक हुन्छ । तर परम्परागत गुटको विकल्प नयाँ गुट होइन, विचार र नीतिको राजनीति हो,” उनले भनेका छन्।
शर्माले काँग्रेसले नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमार्फत अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, जलवायु परिवर्तन र रोजगारीलगायत विषयमा नीतिगत बहस गरिरहेको उल्लेख गरेका छन्। मानसिक स्वास्थ्य, कृषि, प्रविधि, पूर्वाधार, परराष्ट्र नीति, संघीयता र सामाजिक न्यायका विषयमा पनि बहसलाई निरन्तरता दिइने उनले बताएका छन्।
लोकतान्त्रिक संस्कृतिमा आएको क्षय एकाएक नभएको र त्यसको सुधार पनि तत्काल सम्भव नहुने उनको भनाइ छ। विगतका अधिकांश राजनीतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेसले अब लोकतान्त्रिक संस्कृतिको पुनर्स्थापनामा नेतृत्व लिनुपर्ने उनले बताएका छन्।
महाधिवेशनलाई नेतृत्व चयनमा मात्र सीमित नराखी राजनीतिक संस्कार, संगठन र कार्यशैली परिवर्तनसँग जोड्नुपर्नेमा शर्माले जोड दिएका छन्। ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल काँग्रेस’ भन्ने मूल नाराअनुरूप पार्टीको सोच, शैली र चरित्रमा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ।
“चुनाव जित्नुभन्दा पहिले नागरिकको विश्वास जित्ने राजनीतिक संस्कृति निर्माण गर्नु हाम्रो प्राथमिकता हो,” उनले भनेका छन्।



