काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको लोकतान्त्रिक संस्कृतिमा क्षय हुँदै गएको भन्दै यसलाई सुधार गर्ने अभिभारा नेपाली काँग्रेससँग रहेको बताएका छन् ।
काठमाडौँको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपसभापति शर्माको लोकतान्त्रिक संस्कृतिमा आएको क्षय र युगअनुकूल रूपान्तरणसम्बन्धीको प्रतिवेदन समेत बन्द सत्रले पारित गरेको छ । उनले नेपाली काँग्रेसमा गुनासो र निराशाभन्दा उत्तरदायित्व, संस्कार, विश्वास र आशाको राजनीतिक संस्कृति विकास गर्नुपर्नेमा समेत जोड दिए । उनले महाधिवेशनबाट जुनसुकै व्यक्ति निर्वाचित भए पनि विजयीलाई सहयोग गरेर पार्टीलाई बलियो बनाउने संकल्प गर्न सबै प्रतिधिनिहरुलाई आग्रह समेत गरे ।
उपसभापति शर्माले निराश व्यक्तिले देश निर्माण गर्न नसक्ने भन्दै काँग्रेसभित्र आशा, विश्वास र भरोसाको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘हामी उत्तर भएको काँग्रेस बनाउन चाहन्छौँ, गुनासो भएको होइन । हामी संस्कार भएको काँग्रेस बनाउन चाहन्छौँ, आवेग भएको होइन । हामी विश्वास आफूभित्र भएको काँग्रेस बनाउन चाहन्छौँ, निराश काँग्रेस होइन । निराश मान्छेले देश बनाउँदैन, निराश मान्छेहरूको देश दुनियाँमा कहीँ बनेको छैन । आशा गर्ने, आशासँगै विश्वास गर्ने, विश्वाससँगै भरोसा गर्ने र केही गर्छौँ भन्ने काँग्रेसले मात्रै काँग्रेस बलियो बनाउन सक्छ, देश बलियो बनाउन सक्छ । यो राजनीतिक संस्कृतिमा रूपान्तरण गरिराखेर गर्नुपर्ने चेत यो हलबाट फर्केर जाँदा हामी सबैमा बनोस्, बन्नुपर्छ । यो हलबाट निक्लेर गाडीमा चढेर आ–आफ्नो जिल्ला जाँदै गर्दा हामी कसले कुन पद जितेर, कुन पद लिएर जान्छौँ त्यो दोस्रो कुरा हो, हामी फर्केर जाँदै गर्दा जसले जिते पनि मेरो साथी विजयी भएको छ, उसलाई सहयोग गरिराखेर बलियो काँग्रेस बनाउँछौँ भन्ने सोचको संस्कारले मात्रै काँग्रेस बलियो बन्छ । त्यसैले लोकतान्त्रिक संस्कृतिमा भएको क्षयलाई यो देशमा उठाउनुपर्ने अभिभारा, रूपान्तरण गर्नुपर्ने अभिभारा काँग्रेसको हो । यो दस्तावेज काँग्रेसले त हामी पढ्नेछौँ, मनन गर्नेछौँ, सिङ्गैमा हामी यो समाजमा, गाउँमा पनि पुर्याउनेछौँ । यति भनिराखेर लोकतान्त्रिक संस्कृतिमा क्षय र युगअनुकूल रूपान्तरणको अभिभारा भन्ने दस्ताबेजलाई तपाईँहरूले जोरदार तालीका साथ पारित गरिदिन अनुरोध गर्दछु ।’
उनले पार्टीको आन्तरिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउँदै लैजान सबै तहका नेता कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।



