काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेकाले विभिन्न प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ ।
हाल बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सामान्य बदली भएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने मधेससहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।
गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई क्षेत्रमा आंशिक बदली रहने छ।
कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भने चट्याङ र असिनासहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मधेससहित कोशी, बागमती र गण्डकीका तराईका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
राति कोशी प्रदेशका सबै भूभाग तथा देशका बाँकी हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।



