काठमाडौँ । चिकित्सा शिक्षा आयोगले निजी मेडिकल कलेजको सिट यथावत् राख्दै सरकारी शिक्षण संस्थालाई प्राथमिकता दिएर चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थप गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले शैक्षिक सत्र २०८३/८४ का लागि कुल ९ हजार ६९१ सिट निर्धारण गरेको हो। यो सङ्ख्या गत वर्षको तुलनामा ४१८ ले बढी हो।
सिट निर्धारणका लागि देशभरका ९० वटा शिक्षण संस्थाले स्वमूल्याङ्कन फाराम भरी सिट माग गरेका थिए। विज्ञान तथा प्रविधिसहितको टोलीले गरेको अनुगमन प्रतिवेदनका आधारमा तीमध्ये ८४ वटा शिक्षण संस्थाका लागि सिट निर्धारण गरिएको आयोगले जनाएको छ।
आयोगका सदस्यसचिव हरिप्रसाद निरौलाका अनुसार एमबिबिएसतर्फ गत वर्षको तुलनामा ११० सिट थप गरिएको छ। जसमध्ये सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ५० सिट प्राप्त गरेको छ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट थप गरिएको छ।
निजी मेडिकल कलेजको हकमा भने यस वर्ष सिट वृद्धि गरिएको छैन। सदस्यसचिव निरौलाका अनुसार एमबिबिएसतर्फ थपिएका सबै सिट सरकारी शिक्षण संस्थाका हुन्।
त्यस्तै, एमबिबिएसबाहेक अन्य कार्यक्रममा पनि सिट वृद्धि गरिएको छ। बीएस्सी नर्सिङतर्फ गत वर्षको तुलनामा २१० सिट थप गरिएको छ भने बीएमएसतर्फ ९८ सिट वृद्धि गरिएको छ। यससँगै चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा कुल ४१८ सिट थप भएका छन्।




