काठमाडौँ । पाकिस्तानका टी-२० टोलीका कप्तान तथा विश्वकपका कीर्तिमानी ब्याटर साहिबजादा फरहानले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् ।
कर्णाली याक्सले शुक्रबार सामाजिक सञ्जालमार्फत ३० वर्षीय फरहानलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा गरेको हो । टोलीले टी-२० विश्वकप २०२६ का सर्वाधिक रनकर्ता फरहानलाई स्वागत गर्दै उनको आगमनले टोलीको ब्याटिङ बलियो हुने विश्वास व्यक्त गरेको छ ।
भारत र श्रीलङ्कामा सम्पन्न टी-२० विश्वकपमा फरहानले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले छ खेलमा दुई शतकसहित ३८३ रन बनाउँदै पुरुष टी-२० विश्वकपको एउटै संस्करणमा सर्वाधिक रन बनाउने कीर्तिमान कायम गरेका थिए ।
दायाँहाते ब्याटर फरहानले पाकिस्तानका लागि ५१ टी-२० अन्तर्राष्ट्रिय खेलमा दुई शतक र १३ अर्धशतकसहित एक हजार ५५४ रन बनाएका छन् । समग्र टी-२० क्रिकेटमा उनले १८६ खेलबाट नौ शतक र ३८ अर्धशतकसहित पाँच हजार ७७५ रन जोडेका छन् ।
यसअघि पाकिस्तान सुपर लिग, बङ्गलादेश प्रिमियर लिग र लङ्का प्रिमियर लिग खेलिसकेका फरहानका लागि एनपिएल चौथो विदेशी फ्रेन्चाइज लिग हुनेछ । कर्णालीले यसअघि पाकिस्तानका हुसेन तलत तथा बङ्गलादेशका अक्बर अली र अरिफुल इस्लामलाई अनुबन्ध गरिसकेको छ ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ ।



