रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ करिब ५ः३० बजे घरनजिकैको बाटोमा खेलिरहेका स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुंगा प्रहारबाट मृत्यु भएको हो।
बालकलाई सोही स्थानका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि टाउकोमा ढुंगा प्रहार गर्दा उनी घाइते भएका थिए । ढुंगा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्वास्थ्य चौकी पिपल पुर्याइएको थियो।
स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ढुंगा प्रहारमा संलग्न भनिएका नाथको मानसिक अवस्था सामान्य नरहेको बताइएको छ। नाथलाई नियन्त्रणमा लिइ घटनाको कारण तथा अन्य परिस्थितिबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



