काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेसका समस्या र आवश्यकतालाई सम्बोधन गर्ने गरी पार्टीको एजेण्डा तथा योजना निर्माण गर्नुपर्ने बताएका छन् ।
बिहीबार जनकपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले मधेसको आवश्यकता र समस्या यहाँकै नागरिकले बढी बुझ्ने भएकाले स्थानीय स्तरबाट आएका सुझाव, मुद्दा र एजेण्डालाई नेपाली काँग्रेसको केन्द्रीय योजनामा समेट्नुपर्ने बताएका हुन् ।
उनले पार्टीका कार्यक्रम र योजनाहरू जनताको वास्तविक आवश्यकतासँग जोडिनुपर्ने उल्लेख गर्दै मधेसका मुद्दालाई राष्ट्रिय राजनीतिको प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
महामन्त्री पौडेलले नेपाली काँग्रेसका सभापति गगनकुमार थापालाई सरकारले पक्राउ गर्न सक्ने भन्दै विधिको शासन र कानूनी प्रक्रियामाथि प्रश्न उठाए । सरकारले कानून र विधिको शासन पालना नगरेको अवस्थामा आफूहरू पक्राउ पर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने उनको भनाइ छ ।
सभापति गगनकुमार थापाबारे एक बिचौलियाले दिएको भनिएको बयानमा समेत प्रश्न उठाउँदै उनले सम्बन्धित व्यक्तिले प्रहरीसमक्ष त्यस्तो बयान दिएको भए प्रहरीले त्यसबारे सार्वजनिक गरिसक्ने र सरकारले अदालतमा मुद्दा लैजान यति ढिलाइ नगर्ने तर्क गरे।
सरकारले कसैलाई कारबाही गर्ने नाममा विधि र कानुन विपरीत मानमर्दन गर्न नहुने भन्दै उनले काँग्रेस यस्ता गतिविधिबाट नडराउने बताए । पक्राउ गरे पनि सरकारका गलत काम र विधि उल्लंघनविरुद्ध आवाज उठाउन नछाड्ने उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो योजना र कार्यक्रम यस क्षेत्रका वास्तविक आवश्यकता, समस्या र जनताको अपेक्षासँग जोडिनुपर्छ । यस भूमिलाई नजिकबाट बुझ्ने स्थानीय साथीहरूले उठाएका मुद्दालाई समेटेर मधेसका समस्या र आवश्यकतालाई नेपाली काँग्रेसको केन्द्रीय एजेण्डा बनाउनुपर्छ । जहाँसम्म पार्टी सभापतिको पक्राउको विषय छ, हामी विधिको शासन र कानूनी प्रक्रियाको सम्मान गर्छौँ । तर कानूनको नाममा हुने राजनीतिक प्रतिशोध, मनपरी गिरफ्तारी र व्यक्तिको मानमर्दन स्वीकार्य हुँदैन । कुनै पनि आरोपको निष्पक्ष छानबिन र कानूनी प्रक्रियाबाट निरूपण हुनुपर्छ । दुई तिहाइको बहुमत पाउँदैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच लोकतन्त्रको मर्मविपरित छ । सरकारका गलत काम, अन्याय र विधिको उल्लंघनविरुद्ध बोल्नु प्रतिपक्षको जिम्मेवारी हो । पक्राउ र दबाबले नेपाली काँग्रेसको आवाज रोकिँदैन । हामी कानुनी शासन, लोकतान्त्रिक मूल्य र जनताको अधिकारका पक्षमा निरन्तर बोलिरहनेछौँ ।’
दुई तिहाइको बहुमत प्राप्त गर्दैमा सरकारले जे गरे पनि हुन्छ भन्ने सोच राख्न नहुने उल्लेख गर्दै पौडेलले बहुमतका नाममा सरकारविरुद्ध बोल्नेहरूलाई डर र त्रास सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए । सरकारका गलत काम र गतिविधिबारे बोल्न काँग्रेस र पार्टी सभापति पछि नहटेको भन्दै उनले अहिले काँग्रेसमाथि भइरहेको व्यवहार पनि सरकारको यही प्रवृत्तिको परिणाम भएको टिप्पणी गरे।





