काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र काठमान्डु गोर्खाजले प्रतिस्पर्धा गरिरहेका छन् ।
टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले काठमान्डुलाई जितका लागि १२६ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन जोड्यो ।
सुदूरपश्चिमको सुरुवात निकै खराब रह्यो । ओपनर स्कट कुगलेइनले ६ रन बनाउँदा विनोद भण्डारीले १ रनमात्रै जोडे । त्यसपछि ब्याटिङमा आएका ब्रेन्डन म्याकमुलेन र ईशान पाण्डे खाता समेत खोल्न नसकी शून्य रनमै पभेलियन फर्किए । दुवैलाई काठमान्डुका बलर सन्तोष यादवले आउट पारे ।
पाँचौँ नम्बरमा ब्याटिङमा आएका कप्तान दीपेन्द्र सिंह ऐरी र छैटौँमा आएका आरिफ शेखले सुदूरपश्चिमको इनिङ्स सम्हाले । तर, शेख रनआउट भएपछि सुदूरपश्चिम फेरि समस्यामा आयो । शेखले २५ बलमा १६ रनमात्रै बनाए ।
कप्तान ऐरीले अर्धशतकीय पारी खेले । उनले ६० रनको योगदान दिए । यस्तै, थरिन्दु रत्नायकेले नटआउट २६ रन जोडे ।
बलिङतर्फ काठमान्डुका जहानदाद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए ।





