काठमाडौँ । युरोपेली मुलुकहरूबीच क्षेत्रीय सुरक्षा, आर्थिक प्रतिस्पर्धात्मकता र साझा चुनौतीबारे छलफल गर्न युरोपेली राजनीतिक समुदाय (ईपीसी) को नवौँ शिखर सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनमा सुरु भएको छ ।
बिहीवारदेखि सुरु भएको सम्मेलनमा युरोपका करिब ५० देशका नेताहरू सहभागी छन् । डब्लिनस्थित कन्भेन्सन सेन्टरमा आयोजित सम्मेलनको सहअध्यक्षता आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन र युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले गरिरहेका छन् ।
‘बलियो, सुरक्षित र जोडिएको युरोप’ भन्ने नारासहित सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा युरोपको आर्थिक प्रतिस्पर्धात्मक क्षमता वृद्धि, नवीन प्रविधिको प्रवर्द्धन, ऊर्जा सहकार्य तथा सुरक्षा चुनौतीको सामना गर्ने क्षमतामा सुधार गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ । विशेष गरी विदेशी हस्तक्षेप र विभिन्न माध्यमबाट हुने अप्रत्यक्ष तथा मिश्रित आक्रमणबाट युरोपलाई सुरक्षित राख्ने विषयले प्राथमिकता पाउनेछ ।
त्यस्तै, रुस-युक्रेन युद्ध पनि सम्मेलनको प्रमुख एजेन्डा बनेको छ । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासहरू पुनः अघि बढिरहेका बेला युरोपेली नेताहरूले यस विषयमा साझा धारणा निर्माण र आपसी समन्वय गर्ने अपेक्षा गरिएको छ । सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपेली संघका सदस्य तथा गैरसदस्य राष्ट्रका प्रतिनिधिहरू सहभागी छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नी पनि अतिथिका रूपमा सम्मेलनमा सहभागी भएका छन् । उनको सहभागिताले युरोपेली संघभन्दा बाहिरका मुलुकसँग समेत राजनीतिक संवाद र सहकार्य विस्तार गर्ने मञ्चका रूपमा सम्मेलनको भूमिका देखाएको छ । उत्तर एटलान्टिक सन्धि सङ्गठन ९नेटो० का महासचिव मार्क रुटेले पनि सम्मेलनका क्रममा युरोपेली नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । नेटोकाअनुसार उनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि भेट गर्नेछन् । सम्मेलनका क्रममा रुटेले सञ्चारकर्मीसँग कुराकानी गर्ने कार्यक्रमसमेत रहेको छ । सन् २०२२ मा स्थापना भएको युरोपेली राजनीतिक समुदाय युरोपेली संघको सदस्यता भएका वा नभएका सबै युरोपेली मुलुकबीच राजनीतिक संवाद र सहकार्य प्रवर्द्धन गर्ने अनौपचारिक मञ्च हो । डब्लिनमा आयोजित यो सम्मेलनपछि शुक्रवार युरोपेली संघका सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरूको अनौपचारिक बैठक पनि हुँदै छ । उक्त बैठकमा युरोपेली संघका आगामी रणनीतिक प्राथमिकताबारे छलफल हुने अपेक्षा गरिएको छ ।





