काठमाडौँ । सामाजिक सुरक्षा कोषले भोटेकोशीको बाढीमा ज्यान गुमाएका १७४ योगदानकर्ताका परिवारका हकदारले निवृत्तिभरणसहितका सुविधा पाउने जनाएको छ ।
कोषका अनुसार मृतकका पति वा पत्नीले योगदानकर्ताको पछिल्लो २४ महिनाको औसत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम आजीवन निवृत्तिभरणबापत पाउनेछन् ।
मृतकका १८ वर्षभन्दा कम उमेरका छोराछोरीका लागि मासिक ४० प्रतिशत अध्ययन खर्चको व्यवस्था छ । शारीरिक रूपमा अशक्त छोराछोरीले भने ४० प्रतिशत बराबरको सुविधा आजीवन पाउने कोषले जनाएको छ ।
परिवारले किरिया खर्चबापत २५ हजार रुपैयाँ पनि पाउनेछ । कोषले योगदानकर्ताले जम्मा गरेको ३१ प्रतिशत योगदानमध्ये २८.३३ प्रतिशत बराबरको रकम प्रतिफलसहित एकमुष्ट फिर्ता हुने उल्लेख गरेको छ । यी सुविधा कोषमा नियमित योगदान गरेका योगदानकर्ताका परिवारमा लागू हुनेछन् ।






