काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.अमरेशकुमार सिंहले मेची-महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई बुझाउने बताएका छन् ।
सोमवार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पुर्याउने उद्देश्यले पदयात्रा गर्न लागेको बताएका हुन् । उनकाअनुसार पदयात्राका क्रममा संकलन गरिएका जनताका समस्या तीन प्रति तयार पारिनेछ । एउटा प्रति पार्टी सभापतिलाई पुस्तकका रूपमा हस्तान्तरण गरिने, दोस्रो प्रति प्रधानमन्त्रीलाई बुझाइने र तेस्रो प्रति आफैँले राखेर संसद्मा जनताका समस्या उठाउन प्रयोग गरिनेछ । सिंहले मंगलवार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर टुङ्गिने जानकारी दिए ।
करिव दुई महिनासम्म चल्ने यात्रामा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने उनको योजना छ । पदयात्राका क्रममा प्रत्येक २० देखि २५ किलोमिटरको दूरीमा पर्ने गाउँमा पुगेर स्थानीयसँग संवाद गर्ने उनले बताए। मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी तथा युवालगायत सबै वर्ग र समुदायका नागरिकसँग भेटेर उनीहरूका समस्या सुन्ने उनको भनाइ छ । विशेषगरी युवाको रोजगारी, किसानका समस्या र विभिन्न समुदायका आवश्यकता बुझ्ने बताए।
सिंहले हुलाकी राजमार्गको पदयात्रापछि आगामी वैशाखमा मध्यपहाडी लोकमार्गबाट अर्को यात्रा गर्ने योजना पनि सुनाए। झुलाघाटबाट शुरु हुने उक्त यात्रा चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ ।
सिंहले भने, ‘भोलि बिहान मेचीको किनारबाट शुरु हुने यो पदयात्रा माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर सम्पन्न हुनेछ । यो देश र समाज जोड्ने यात्रा हो । जात, धर्म, वर्ग वा पहाड–मधेसका नाममा कुनै द्वन्द्व नहोस् र राष्ट्रिय एकता मजबुत बनोस् भन्ने यसको मुख्य उद्देश्य हो । जनताका समस्या र गुनासा प्रत्यक्ष सुन्न म आफैँ घरदैलोमा पुग्दैछु । दैनिक पाँच घण्टा हिँड्ने र सात घण्टा जनताका कुरा सुन्ने योजना छ । हुलाकी राजमार्गबाट शुरु हुने यो यात्रापछि वैशाखमा मध्यपहाडी लोकमार्ग हुँदै झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म अर्को यात्रा गर्नेछु । मजदुर, किसान, महिला, दलित, मुस्लिम, व्यापारी र युवालगायत सबै वर्ग तथा समुदायका समस्या र रोजगारीका सवाल सुन्नेछु । यात्राका क्रममा जनताबाट प्राप्त सुझाव र समस्यालाई अभिलेख गरी तीन प्रति तयार पार्नेछु । एउटा पार्टी सभापतिलाई, अर्को प्रधानमन्त्रीलाई बुझाउनेछु र तेस्रो प्रतिका आधारमा संसद्मा जनताका आवाज उठाउनेछु । हाम्रो उद्देश्य पार्टी, जात, धर्म वा भूगोलभन्दा माथि उठेर सम्पूर्ण नेपालीलाई एउटै राष्ट्रिय एकताको सूत्रमा जोड्नु हो । राष्ट्रिय एकता बलियो भए मात्र राष्ट्रियता बलियो हुन्छ। जनताको अभिमत र आकाङ्क्क्षाको सम्मान गर्दै कमजोरी सच्याएर जनताका समस्या समाधान गर्नु हाम्रो दायित्व हो ।’
सिंहले रास्वपाको सफलता देशको सफलतासँग जोडिएको दाबी गर्दै जनताले दिएको अभिमत र उनीहरूका आकाङ्क्षालाई सम्मान गर्दै पार्टी तथा सरकारले आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए ।






