काठमाडौँ। दाना र चोकर महँगिएपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले किसानले पाउने कच्चा दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएर ७५ रुपैयाँ पुर्याउन माग गरेको छ ।
हाल किसानले ४ प्रतिशत फ्याट र ८ प्रतिशत एसएनएफ (बोसोबाहेकका ठोस पदार्थ) भएको दूधको प्रतिलिटर ६५ रुपैयाँ पाउँदै आएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष किशोर वगालेले २०७९ सालमा बढाइएको दूधको मूल्य त्यसयता यथावत् रहेको बताए । उनका अनुसार सामान्य अवस्थामा प्रतिलिटर ५५ देखि ६० रुपैयाँ पर्ने उत्पादन लागत दाना र चोकरको मूल्य बढेसँगै उकालो लागेको छ । दसैँअघि नै मूल्य बढाउन माग गरे पनि अहिलेसम्म सुनुवाइ नभएको उनले बताए ।
चितवनमा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुन्छ । त्यसमध्ये ५५ प्रतिशत दूध अन्य जिल्लामा जाने गरेको छ । जिल्लाका ११५ दुग्ध उत्पादक सहकारीले किसानबाट दूध संकलन गरी बजारमा पठाउँदै आएका छन् ।






