काठमाडौँ। प्रतिजैविक औषधिको जथाभावी प्रयोग र दुरुपयोगबाट बढ्दै गएको प्रतिजैविक प्रतिरोधको जोखिमबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२६ को अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र औषधि व्यवस्था विभागको आयोजनामा प्रभातफेरी गरिएको हो।
आज बिहान सिंहदरबारको दक्षिण गेटबाट सुरु भएको प्रभातफेरी माइतीघर मण्डला हुँदै बबरमहलस्थित औषधि व्यवस्था विभाग पुगेर समापन भएको थियो।
कार्यक्रममा मन्त्रालय, औषधि व्यवस्था विभाग, राष्ट्रिय औषधि प्रयोगशालाका कर्मचारी, औषधि व्यवसायी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
प्रतिजैविक औषधिको जथाभावी प्रयोग र दुरुपयोगले औषधिप्रति सूक्ष्म जीवहरूको प्रतिरोध क्षमता बढ्दै जाने र यसले संक्रमणको उपचारलाई चुनौतीपूर्ण बनाउने भएकाले यससम्बन्धी जनचेतना फैलाउन कार्यक्रम आयोजना गरिएको जनाइएको छ।





