काठमाडौँ । काठमाडौँ-तराई-मधेस द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएसँगै चिनियाँ निर्माण कम्पनीले बाँकी काम निर्धारित समयमै पूरा गर्ने प्रतिबद्धता जनाएको छ ।
बुधवार सुरुङको ब्रेकथ्रु समारोहमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी लिमिटेडका प्रतिनिधि वाङ सीले निर्माणका बाँकी कामलाई तीव्रता दिँदै गुणस्तर र सुरक्षामा विशेष ध्यान दिने बताएका हुन् । उनले सुरुङ निर्माणको आगामी चरणमा सेकेन्डरी लाइनिङ र सहायक संरचनाको कामलाई प्राथमिकतामा राखिने जानकारी दिए। निर्माण प्रक्रियाको कडाइका साथ पालना गर्दै सम्भावित जोखिमको निरन्तर पहिचान र व्यवस्थापन गरिने पनि उनले बताए ।
वाङ सीकाअनुसार महादेवटार सुरुङ निर्माणका क्रममा कोभिड–१९ महामारी र हिमाली क्षेत्रको जटिल भूगर्भीय अवस्थाका कारण अनेकौँ चुनौती सामना गर्नुपरेको थियो । कमजोर चट्टानी संरचना र जटिल भूगर्भीय बनावटले निर्माण कार्यलाई थप चुनौतीपूर्ण बनाएको उनले उल्लेख गरे ।
यस्ता चुनौतीका बाबजुद प्राविधिक नवप्रवर्तन र प्रभावकारी व्यवस्थापनमार्फत सुरुङको ब्रेकथ्रु गर्न सफल भएको उहाँको भनाइ छ । उनले आयोजनाको उपलब्धिमा नेपाल सरकार, नेपाली सेना, परामर्शदाता, आयोजना साझेदार तथा नेपाली, चिनियाँ र कोरियाली इन्जिनियर, प्राविधिक र श्रमिकको सामूहिक योगदान रहेको बताए ।
कम्पनीले बाँकी निर्माण कार्य पनि सबै पक्षसँगको सहकार्य र आपसी विश्वासका आधारमा सम्पन्न गर्ने जनाएको छ । वाङ सीले काठमाडौं–तराई द्रुतमार्ग आयोजना नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि बन्ने विश्वास व्यक्त गरे ।





