काठमाडौँ । गोरखा, लमजुङ र मनाङ जिल्लामा पूर्वाधार विकासका योजना कार्यान्वयन गर्ने गरी गोरखाको पालुङटार नगरपालिका-५, ठाँटीपोखरीमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ ।
बुधबारदेखि सञ्चालनमा आएको कार्यालयले तीनवटै जिल्लामा वैकल्पिक राजमार्ग, रणनीतिक कृषि सडक, पर्यटकीय मार्ग, स्थानीय तहका केन्द्र जोड्ने सडक तथा स्थानीय र झोलुंगे पुल निर्माण र स्तरोन्नतिको काम गर्ने कार्यालय प्रमुख इन्जिनियर रामशरण आचार्यले जानकारी दिए ।
उनका अनुसार कार्यालयले आफ्नो कार्यक्षेत्रभित्रका योजनाको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), डिजाइन, लागत अनुमान, वातावरणीय अध्ययन र गुणस्तर परीक्षणलगायत प्राविधिक काम गर्नेछ । साथै, निर्माण व्यवस्थापन, ठेक्का प्रक्रिया, भुक्तानी, सुपरिवेक्षण तथा विवाद समाधानलगायत काम पनि कार्यालयबाटै हुनेछन् ।
यसअघि गोरखामा पूर्वाधार विकाससम्बन्धी काम गण्डकी प्रदेश सरकारअन्तर्गतका पूर्वाधार विकास कार्यालय र गोरखा सडक योजना कार्यालयमार्फत हुँदै आएको थियो ।
गत असोज १३ गते बसेको मन्त्रिपरिषद् बैठकले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विकास विभाग मातहत प्रत्येक प्रदेशमा सातवटा पूर्वाधार सुपरिवेक्षण तथा अनुगमन कार्यालय र ती कार्यालयअन्तर्गत २१ वटा पूर्वाधार विकास डिभिजन स्थापना गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गोरखामा डिभिजन कार्यालय स्थापना गरिएको हो ।





