काठमाडौँ । नेपाली विद्यार्थी समाज दक्षिण कोरिया (सोनसिक) को आठौँ शैक्षिक सेमिनार सम्पन्न भएको छ ।
विदेशमा सिकेको ज्ञान शीप तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिएको शैक्षिक सेमिनार दुई दिनसम्म सञ्चालन गरिएको थियो ।
संस्थाका सभापति राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामसिंह थापा रहेका थिए ।
गैरआवसीय नेपाली सङ्घ दझिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदी, सोनसिकका पूर्व सभापतिहरू र सल्लाहकार आथित्यता रहेको उक्त कार्यक्रम सञ्चालन चारु विष्टले गरेकी थिइन् ।
सेमिनार सेसनमा नेपाल, कोरिया तथा विश्वका विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरू तथा विश्वभरि छरिएर रहेका विज्ञ, अनुभवी तथा दक्ष अतिथिहरूको उपस्थिति रहेको थियो । नेपालको विकाश र समृद्धिसँग कसरी जोड्ने र नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्ने बहसको निरन्तर अभ्यासले कार्यक्रम थप उपलब्धिमूलक भएको सभापति राजाराम श्रेष्ठले जानकारी दिए ।
सेमिनारका संयोजक डा. टोनकिंग बास्तोलाका अनुसार पहिलो दिनको पहिलो सेसनमा मुख्य वक्ताका रूपमा काठमाडौँ विश्वविद्यालयका उप–कुलपति प्रा. डा. भोला थापा र राष्ट्रिय आविष्कार केन्द्रका संयोजक डा. माहाविर पुनको प्रस्तुति रहेको थियो भने दोस्रो दिनको सेसनको प्रमुख वक्ता डा. दिग्विजय महतले आफ्नो प्रस्तुति राख्नु भएको थियो । ई. रवि घिमिरेको संयोजनमा सम्पन्न पहिलो दिनको कार्यक्रम तिन बटा सेसनमा विभाजन गरिएको थियो र सेसनहरूको सहजीकरण डा.कृष्ण सोमाइ, यज्जु प्रधान र चारु विष्टले गरेकी थिइन् ।
डा. दिग्विजय महत प्रमुख वक्ता रहेको दोस्रो दिनको कार्यक्रम शैक्षिक क्षेत्रका विभिन्न विषयहरू समेटेर छ वटा सेसनमा विभाजन गरिएको थियो । विभिन्न छ वटा सेसनहरूमा ‘ईञ्जिनियरिङ एन्ड आर्टिफिसियल ईन्टेलिजेन्सी, नेचुरल साइन्स, एप्लाईड साइन्स एन्ड बायो टेक्नोलोजी, हेल्थ एन्ड अलाईड साइन्स, एग्रिकल्चर फरेस्ट्री, फुड, ग्रिन इनर्जी एन्ड इकोलोजी र सोसियल साइन्स एन्ड म्यानेजमेण्ट’ रहेका थिए।
सम्बन्धित विषयका विज्ञहरूको संयोजनमा सम्पन्न भएको सेसनहरूमा लामो समय शिक्षण, अनुसन्धान लगायतको शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील व्यक्तिहरू उपस्थित थिए ।
सेमिनारमा विभिन्न विद्यार्थीहरूले आफ्नो खोज अनुसन्धानका बारेमा पोस्टर प्रदर्शन पनि गरेका थिए । प्राप्त पोस्टरहरू माध्यबाट उत्कृष्ट तीन पोस्टरहरूलाई नगद ५०,००० वन सहित सर्टिफिकेट प्रदान गरिएको थियो ।
साथै सेमिनारको विभिन्न सेसनहरूका संयोजक, सेसन चेयर, प्रस्तुतिकर्ताहरू सम्पूर्णलाई धन्यवाद दिँदै प्रशंसा पत्र प्रदान गरिएको सेमिनारका संयोजक डा. टोनकिङ बास्तोलाले जानकारी गराए । विश्वका जुन सुकै कुनाबाट कार्यक्रममा उपस्थित हुन सहज होस् भन्ने उद्देश्यका साथ सेमिनारका सम्पूर्ण सेसनहरू फेसबुक मार्फत पनि प्रत्यक्ष प्रसारण गरिएको संयोजक बास्तोलाले जानकारी दिए ।
सेमिनारलाई सफलता पूर्वक सम्पन्न गराउनका निम्ति प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्तै साथ, सहयोग एवम् सल्लाह सुझावको अपेक्षा राखेको कुरा सोनसिका सभापति श्रेष्ठले बताए ।