काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो ६०० ग्राम थाई गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ पर्नेमा ३० वर्षीय भारतीय नागरिक जयेश साहेब्रो रहेका छन्। उनी थाइल्यान्डबाट थाई एयरवेजको उडानमार्फत काठमाडौँ आएका थिए।
थाइल्यान्डबाट नेपाल आउने यात्रुहरूको आपराधिक पृष्ठभूमि विश्लेषण (क्रिमिनल प्रोफाइलिङ) गर्ने क्रममा विमानस्थलमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
ब्युरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा खटिएको टोलीले कात्तिक २१ गते थाई एयरवेजको उडान नम्बर टीजी ३१९ बाट आएका उनलाई जाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको जनाएको छ।
प्रहरीले उनको साथबाट एक किलो ६०० ग्राम थाई गाँजाका अतिरिक्त एक थान राहदानी र एक थान मोबाइल फोनसमेत बरामद गरेको छ।
पक्राउ परेका साहेब्रोलाई लागुऔषध नियन्त्रण ब्युरोको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।





