काठमाडौँ । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषध ट्रामाडोलसहित दुई जना पक्राउ परेका छन्। लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा परिचालित प्रहरीले चाबहिल र कलंकीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
काठमाडौँ महानगरपालिका-७ चाबहिलस्थित विनायक टोलको एक घरबाट मकवानपुरको राक्सिराङ गाउँपालिका-५ घर भएकी ३५ वर्षीया सजिना थिङ पक्राउ परेकी छन्।
प्रहरीका अनुसार कात्तिक २० गते बिहान करिब ११ बजे लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उक्त घरमा जाँच गरेको थियो।
त्यस क्रममा थिङ बस्ने कोठाबाट ५९० क्यापसुल ट्रामाडोल, ६२ हजार ८५० रुपैयाँ नगद र तीन थान मोबाइल फोन बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी थिङविरुद्ध लागु औषधसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ।
यसैगरी, कात्तिक २१ गते दिउँसो करिब ३ बजे काठमाडौँ महानगरपालिका-१४ स्थित कलंकीको श्यामा पेट्रोल पम्प क्षेत्रमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले ३२ वर्षीय पारसबहादुर मगरलाई नियन्त्रणमा लिएको छ।
चन्द्रागिरि नगरपालिका-१५ तीनथान निवासी मगरलाई लागुऔषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा परिचालित प्रहरीले शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ। दुवै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।





