२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खर्चिलो र भड्किलो बन्दै चुनाव

अ+ अ-

काठमाडौँ । ‘खर्चका कारण निर्वाचन लड्न नसक्ने भइयो, भड्किलो चुनावले लोकतन्त्रलाई बोक्न सक्दैन, निष्ठाको राजनीतिक गर्ने चुनावमा प्रतिस्पर्धा गर्न सक्ने भएनन्, अब हामी निर्वाचन व्यवस्थापनमा व्यापक सुधार गर्न तयार हुनै पर्छ’ भनेर संविधानसभा सदस्य खिमलाल देवकोटाले उठाएको आवाजमा अन्य नेता पनि सहमत हुन थालेका छन् ।

संविधानसभा सदस्य देवकोटा भन्छन्, ‘नेताका आफन्त र मन परेकालाई समानुपातिकमा अनि प्रत्यक्षमा पैसाका आधारमा टिकट दिने प्रवृत्तिले राजनीतिको अवमूल्यन गर्छ र पाखा लगाउँछ, यसलाई रोक्नुपर्छ ।’ संविधानसभाबाट संविधान जारी भएपछि वडा तहदेखि राष्ट्रपतिसम्म एक चरणको निर्वाचन प्रक्रिया पूरा हुँदा नहुँदै निर्वाचन प्रणालीबारे कुरा उठ्नु अस्वाभाविक हो । निर्वाचनमा पराजय हुनेबाट यस्ता विचार आउनुलाई स्वाभाविक मानिए पनि विजयी उम्मेदवारबाटै खर्चका हिसाबले निर्वाचन निकै महँगो भएको प्रतिक्रिया आइरहेको छ ।

गत निर्वाचनमा पालिकाका प्रमुखका उम्मेदवारले करिब रु एक करोड तथा प्रतिनिधिसभामा रु पाँच करोड खर्च गरेको पाइएको छ । नेकपा (एमाले) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विजय सुब्बा भन्छन्, ‘ठेकेदार र बिचौलियालाई चुनावमा टिकट दिने दल र नेता दोषी हुन्, प्रणाली होइन, गलत प्रवृत्ति रोक्न मुख्य दल जिम्मेवार हुनुपर्छ, इमानदार र निष्ठाको राजनीति गर्नेलाई मात्र टिकट दिने संस्कार बसाल्नुपर्‍यो, नीतिनियम र आचारसंहिता पालना गराउन र गलत क्रियाकलाप रोक्न राज्य सशक्त हुनुपर्छ ।’

निर्वाचन खर्चबारे सर्वत्र चासो र चिन्ता व्यक्त भएपछि निर्वाचन आयोगले सुधारका लागि अध्ययन अनुसन्धान अघि बढाएको छ । नीति अध्ययन प्रतिष्ठानले निष्कर्षमा पुगिनसके पनि खर्चिलो निर्वाचन रोक्न पाँच विकल्प अघि सारेको छ । प्रधानमन्त्री वा राष्ट्रपति पाँच वर्षका लागि प्रत्यक्ष निर्वाचित हुने प्रणाली अवलम्बन गरिँदा तुलनात्मकरुपमा कम खर्चिलो हुने प्रारम्भिक मत छ ।

उक्त प्रणाली अवलम्बन गरिएमा निर्वाचित नेताको नेतृत्वमा सरकार गठन हुने तथा सांसद नीति निर्माता अर्थात् विधायकका रुपमा मात्र रहने सुझाव छ । दोस्रो विकल्पका रुपमा प्रधानमन्त्री संसद्बाटै निर्वाचित हुने तर सांसद भने मन्त्री हुन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । प्रधानमन्त्रीको नेतृत्वमा रहने मन्त्रिपरिषद्मा विज्ञ समूह रहने प्रस्ताव गरिएको उक्त प्रणालीमा प्रवेश गर्ने हो भने हालको प्रणालीमा सामान्य संशोधन गरेर जान सकिने तर्क गरिएको छ ।

तेस्रो विकल्पमा पूणर्समानुपातिक ढाँचा अघि सारिएको छ । त्यसमा प्रतिनिधिसभाका सबै स्थान समानुपातिक अर्थात् व्यक्ति होइन राजनीतिक दल र विचारबीच प्रतिस्पर्धा हुने प्रणाली प्रस्ताव गरिएको छ । चौथो विकल्पका रुपमा राष्ट्रियसभालाई पूणर्रुपमा समावेशी बनाउने अनि प्रतिनिधिसभामा जसले बढी मत पाउँछ, त्यसैले जित्ने प्रणाली अपनाउने मत अघि सारिएको छ ।

अभ्यासमा हाल कायम रहेको मिश्रित प्रणालीको विकल्पमा उम्मेदवार अग्रिम घोषणा हुने, व्यक्ति चुनावमा जाने, दलले प्राप्त गरेको मतका आधारमा उम्मेदवार निर्वाचित हुनेछ ।

पाँचौँ विकल्पका रुपमा विकास निर्माण र सेवा प्रदान गर्ने निकाय भएकाले स्थानीय तहमा दलीय आधारमा नभई असल काम गर्नेलाई जित्न सक्ने प्रणाली पनि उपयुक्त नमुना हुने तर्क अघि सारिएको छ ।

पूणर्समानुपातिकका लागि राष्ट्रिय बहस

एमाले नेत्री पद्माकुमारी अर्याल भन्छिन्, ‘अहिले चुनावमा हुने बाहुबल, धन र हुल हुज्जतले सीधा सोझालाई अप्ठेरो र अन्याय परेको छ, हामीले आत्मसात् गरेको मिश्रित निर्वाचन प्रणाली दोषी होइन, समानुपातिकमा पनि बल र पहुँच पुर्‍याउन हालीमुहाली हुँदा सोच र परिकल्पना विपरीत हुन पुगेको छ ।’

मुलुकलाई कसरी अघि लैजाने भनी राजनीतिलाई अनुशासित तुल्याउँदै दूषित हुँदै गएको राष्ट्रिय राजनीति र सुशासनलाई सपार्न नेताको इमानदार प्रतिबद्धताको खाँचो औँल्याउँदै पूर्व मन्त्री अर्याल भन्छिन्, ‘त्यो हुन सकेन भने पूर्ण समानुपातिकका लागि राष्ट्रिय बहस चलाऔँ ।’

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, विश्वसनीय र मितव्ययी तुल्याउन संसदीय समितिमा होस वा अरु कुनै भेटघाटमा आयोग पदाधिकारीलाई जनप्रतिनिधिका तर्फबाट निरन्तर घचघच्याउने काम भइरहेको छ । अघिल्लो निर्वाचनमै पनि टिकट खरिद, कार्यकर्ता परिचालन, मतदान र मतगणना, निर्वाचित भएपछि मन्त्री बन्न, गएको चुनावको खर्च उठाउन र आगामी निर्वाचनका लागि रकम जम्मा गर्न इमान बेचिएको पाइएको छ ।

राजनीतिक दल र उम्मेदवारलाई तुलसहित ठुला पदयात्रा, जुलुस र प्रदर्शनीमा रोक लगाउँदै युग सुहाउँदो प्रविधिमैत्री तुल्याउन टेलिभिजन र सामाजिक सञ्जालमार्फत दृष्टिकोण जनतासामु राख्ने वातावरण बनाउन विज्ञबाट सुझाव आएको छ ।

निर्वाचन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमाथि प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा भएको पछिल्लो छलफलमा सांसद रेखा शर्माले करोडौँ खर्च गरेर निर्वाचनबाट आउने नतिजाले सुशासन र राजनीतिक स्थिरता कायम हुन नसक्ने टिप्पणी गरिन् ।

उनले भनिन्, ‘समानुपातिकमा मन परेको तथा प्रत्यक्षमा पैसा हुनेको छनोटले सुशासन, स्थिरता र निष्ठाको राजनीति गर्नेलाई टिकाउन समस्या पैदा भो, निष्ठाको राजनीति जोगाउन, सुशासन कायम गर्न र जनप्रतिनिधि नीति निर्मातामा स्थापित गराउन प्रणालीमै पुनरावलोकन जरुरी छ ।’

समानुपातिक र समावेशिता सुनिश्चित हुने गरी निर्वाचन प्रणालीमा सुधार गरिनुपर्नेमा जोड दिँदै पूर्व मन्त्री शर्मा भन्छिन्, ‘प्रणालीभित्र सुधार गरौँ, निष्ठाले निर्वाचन जित्ने साँच्चिकै मितव्ययी निर्वाचन होस् भन्ने हामी सबैको सोच हुनुपर्छ ।’

लोकतन्त्रको प्राण वायु निर्वाचनमा अनेकौँ विकृति र विसङ्गति देखिएपछि सबै पक्षबाट निर्वाचन व्यवस्थापनमा ठुलो सुधारको खाँचो औँल्याइएको हो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण भन्छन्, ‘परिणाम धेरै खराब देखिएका छ, निष्ठाको राजनीति र समाजसेवा गर्ने भन्दा ठेकेदार बढी आउन थाले, प्रतिनिधिसभाका लागि निर्वाचन खर्चको सीमा रु २४ लाख तोकिएको छ, त्यो नै अधिक हो, पोस्टर र भोजभतेर भएर नभएको आयोगले दरो र खरोरुपमा अनुगमन र निगरानी गर्नुपर्छ ।’

पैसा हुनेले जित्ने, नभए हारिने निर्वाचन भ्रष्टाचारको स्रोत बन्न पुगेको जनाउँदै विज्ञले सुशासन, लोकतन्त्र र कानूनी राज्यलाई निर्वाचनमा ठुला भनिएका नेताबाटै बेवास्ता गरिएको दृष्टान्त प्रस्तुत गरे । राजनीतिक दल र उम्मेदवारबाट आर्थिक गतिविधि पारदर्शी, खर्च कानूनबमोजिम बैङ्किङ प्रणालीबाट, खर्च विवरण पेस, खर्चको वैधता, चन्दाको सीमा हद, स्रोत खुलाउनेजस्ता कार्यमा कानूनपालनामा ध्यान नदिएको आरोप लगाइएको छ । गोप्य मतदानबाहेक निर्वाचनका सम्पूर्ण प्रक्रिया छ्याङ्ग, पारदर्शी बनाएमा अहिले नै प्रणालीको विकल्प रोज्नु नपर्ने विज्ञको मत छ ।

विधायक कानून निर्माता मात्र

विधायक कानून निर्माता भएकाले तिनलाई त्यसमै बढी क्रियाशील गराउनुपर्ने आवश्यकतामा जोड दिइएको छ । सांसदको योग्यता तोकेर जनतालाई पनि योग्य छान्न चेतना जगाउन सकिए विकृति न्यूनीकरण हुँदै जाने विचार पनि प्रकट गरिएको छ । चुनावमा व्यक्ति होइन, राजनीतिक दलबीच सिद्धान्तबीच प्रतिस्पर्धा हुनुपर्छ, दलबीच चुनावी एकता भई जित्ने अवस्था हुँदासमेत २०० जनाको घरदैलो कार्यक्रमले आयोगले तोकेको रु २४ लाखको सीमाभित्र बस्नुपर्ने कार्यमा ठाडै उल्लङ्घन भइरहेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय शासन प्रणालीमा सम्पत्ति र स्रोतसाधनले नभई विचार तथा सिद्धान्त जित्नुपर्छ भन्ने मान्यताका साथ निर्वाचनलाई मितव्ययी बनाएर साँच्चिकै निष्ठावान् र इमानदार उम्मेदवार विजय हुने वातावरण बनाउन मौजुदा प्रणालीभित्रबाटै सुधारका केही काम सुरु गरिएको प्रतिक्रिया दिए ।

उनले भने, ‘भड्किलो निर्वाचनलाई नियन्त्रण गर्न आचारसंहिता कडा बनाउने र उम्मेदवारले गर्ने खर्च र सम्पत्ति विवरण प्रविधिद्वारा हेर्न सक्ने प्रणाली विकास गरिने छ, खर्च सीमाभित्र रहे नरहेको अनुगमन र खर्च व्यवस्थालाई पारदर्शी बनाउने रणनीतिक योजना छ ।’

मतदातामा पनि भोज खाएर मत दिन्न भन्ने प्रतिबद्धता हुनुपर्ने र आचारसंहिता पालनालाई कडाइका साथ अनुगमन भएमा सुधार गर्न सकिने प्रशस्त सम्भावना औँल्याइएको छ । घोषणापत्रमा उल्लेख भएअनुसार दल र उम्मेदवार प्रतिबद्ध भए अस्वस्थ्य निर्वाचन रोक्न सकिने जनाइएको छ ।