काठमाडौँ । मंकीपक्सको आशङ्कामा निगरानीमा रहेका एक युवकमा कुष्ठरोग पुष्टि रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले मंकीपक्सको आशङ्कामा निगरानीमा रहेका २६ वर्षीय युवकमा कुष्ठरोगको जीवाणु भेटिएको बताएकी हुन् ।
आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ठरोगको जीवाणु भेटिएको जानकारी दिएकी छिन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा आजसम्म मंकीपक्सको कुनै पनि संक्रमण पुष्टि भएको छैन ।
अहिलेसम्म विश्वका २९ वटा देशमा मंकीपक्स देखा परेको र १ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।
दुबईबाट नेपाल फर्किएका एक व्यक्तिलाई मंकीपक्सको आशङ्कामा बिहीबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको थियो । ती व्यक्तिलाई ज्वरो पनि आएको र हातमा बिमिरा पनि देखिएकाले एयरपोर्टबाट सिधै टेकु अस्पताल पठाइएको थियो ।
सम्बन्धित समाचार : नेपालमा भेटिए ‘मंकीपक्स’का शङ्कास्पद बिरामी, टेकु अस्पतालमा उपचार हुँदै
चिकित्सकहरूका अनुसार मंकीपक्सको संक्रमण देखिएपछि शरीरमा फोका उठ्ने, बिमिरा आउने, ज्वरो आउने र ग्रन्थीहरु सुन्निनेजस्ता समस्या देखिन सक्छन् ।
मंकीपक्स भएको ३(४ हप्तासम्म लक्षण रहने र मानिसबाट मानिसमा सर्ने सक्ने सम्भावना रहेको चिकित्सकहरू बताउँछन् ।
मंकीपक्सका कारण शरीरमा देखिएका लक्षण करिब तीन महिनापछि आफैँ हराएर जान सक्ने भएकाले डराउन आवश्यक नरहेको तर स्वास्थ्यमा ख्याल गर्नुपर्ने हुन्छ ।
