काठमाडौँ । उदयपुरमा भएको एक परिवारको तीन जनाको हत्या पछाडि सामान्य विवाद कारक रहेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो ।
शुक्रबार बिहान ११ बजे बेलका नगरपालिका-७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजकुमारकी श्रीमती सरिता दुई-तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् ।
प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ ।’
उनीहरुबीच अरू कुनै रिसिइबी पनि थियो कि भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घटनाको कारण यही देखिएको छ ।
प्रहरीका अनुसार उनले जङ्गलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेउ थिइन् । श्रीमान्को हत्यापछि उनले श्रीमती सरितालाई पनि हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।
पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । तीनैजनाको शव हेर्दा धेरै पटक खुकुरी हानिएको देखिएको प्रहरी बताउँछ । शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी छ ।
विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार : उदयपुरमा एकै परिवारका तीन जनाको हत्या







