काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशभर बदली हुने र अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने जनाएको छ ।
बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तर पश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि परेकाले मौसम बदली भएको हो । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तर तिर रहेकाले मनसुनी गतिविधि सक्रिय रहेको मौसम विदले बताएका छन् ।
अहिले प्रदेश १, मधेस प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम विदले बताएका छन् ।
मङ्गलवार दिउँसो प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै राति देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विदले बताएका छन् ।
मङ्गलवारदेखि मनसुनी गतिविधि सक्रिय भएकाले सतर्कता अपनाउन मौसम विदले आग्रह गरेका छन् । बधुबार दसैँको दिन देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । धेरै स्थानमा पानी पर्ने पनि मौसम विदले बताएका छन् ।
आगामी २४ घण्टामा प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।
यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै र प्रदेश १, मधेस प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।
नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन समेत सामान्य प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन आग्रह गरिएको छ ।







