काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण पक्ष नवमी र दशमी तिथिमा पशुपति क्षेत्रको गुह्येश्वरीमा गरिने गुह्येश्वरी जात्राको सबै तयारी पूरा भएको छ ।
गुह्येश्वरी जात्राका लागि हनुमानढोकाबाट तलेजु भवानीको मूर्तिलाई ल्याउने जिम्मा पशुपति सिर्जनशील युवा क्लबलाई दिइएको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका कार्यालय प्रमुख सुशीला शर्माले जानकारी दिइन् । जात्राका लागि तलेजु भवानीलाई दुई दिनसम्म गुह्येश्वरीमा राखिन्छ ।
दुई दिने जात्राका लागि भवानीको मूर्ति बिहीबार पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमा लगिने उनले बताए । बिहीबार गुह्येश्वरी मन्दिरमा रातभर बलिसहित तान्त्रिक र गुप्ती पूजा गरिने जनाइएको छ । शुक्रबार बिहान गुह्येश्वरी र तलेजु भवानीको विशेष पूजापछि पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिन्छ । जात्रा सकी शुक्रबार राति मूर्ति तलेजु मन्दिरमै फर्काइने कार्यक्रम रहेको छ ।
गुह्येश्वरी जात्राका क्रममा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण नवमीको राति गुह्येश्वरी मन्दिरमा बलिसहित तान्त्रिक र गुप्ति पूजा गर्ने गरिन्छ । नवमीदेखि दुई दिनसम्म पशुपति क्षेत्रमा गुह्येश्वरी जात्रा सञ्चालन गरिन्छ । यो जात्रामा गुठी संस्थान र गुह्येश्वरी मन्दिर व्यवस्थापन समितिको व्यवस्थापनमा समेबजीलगायत तान्त्रिक विधिले पूजा गर्दा चढाइने चीजबीजसहित पूजा आराधना गर्ने परम्परा छ ।
गुह्येश्वरी र तलेजुलाई दिदीबहिनीका रूपमा पुजिने भएकाले दुवै मूर्ति उस्तै रहेको छ । गुह्येश्वरीलाई दिदी र तलेजुलाई बहिनीका रूपमा पुजिने गुह्येश्वरी मन्दिरका पुजारी जैन कर्माचार्यले बताए । मूर्ति तलेजु भवानीको मन्दिरबाट गुह्येश्वरी लैजाने सबै विधि तान्त्रिक प्रक्रियाबाट नै पूरा गरिन्छ ।
गुह्येश्वरी मन्दिर क्षेत्रमा तलेजु भवानीलाई लैजानुअघि नै त्यहाँ ३२ हातको लिङ्गो पनि बिहीबार नै ठड्याउने कार्यक्रम रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख शर्माले बताए । जात्राका लागि लिङ्गो पशुपति क्षेत्रस्थित भण्डारखालबाट सालको रुख काट्ने गरिन्छ । यसका लागि गत वर्ष नै रुख काटिसकिएको जनाइएको छ ।
तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि ल्याइएको तलेजु भवानीको मूर्ति पशुपति सिर्जनशील युवा क्लबले नै फिर्ता गर्ने जिम्मा दिइएको छ । क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूलभट्टबाट विधिपूर्वक पूजा गराउने परम्परा छ ।
पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिन्छ । त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिन्छ । पशुपति क्षेत्रका विभिन्न स्थानमा हुने पूजा आराधनामा भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको छ ।
जात्राका लागि नेपाली सेनाको गुरुजुको पल्टनसमेत सहभागी हुने प्राचीनकालदेखिको परम्परा छ ।







