काठमाडौँ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ । नेपालमा २०५८ भदौबाट मुटुको शल्यक्रिया सेवा सुरु भएको थियो ।
सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसीयाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ सय ३९ शय्याको माध्यमबाट सेवा दिइरहेको छ ।
मुटुशल्य चिकित्सा विभागीय प्रमुख डा.रामेश कोइरालाले हाम्रो जस्तो देशको लागि मुटु क्षेत्रमा ठूलो उपलब्धि भएको बताए ।
नेपालमा सरकारी र निजी गरेर २५ हजारको हाराहारीमा ओपन हार्ट सर्जरी भएको छ । गङ्गालालमै मात्रै एक वर्षको अवधिमा १ हजार ७ सयको हाराहारीमा ओपन हार्ट सर्जरी हुँदै आएको छ । यस्तै, अस्पतालले शल्यक्रिया नै नगरी ७ वटा मुटुका भल्भ प्रत्यारोपण गरेको छ ।