काठमाडौँ । बढ्दो बसाइसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता बिदेसिने क्रम बढ्दो छ । तर छत्रकोट गाउँपालिका-२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले छाडेका बाँझो जग्गामा व्यावसायिक रूपमा फूल खेती गरेर मनग्य आम्दानी गर्दै आएकी छन् ।
महत्राले विगत पाँच वर्षदेखि बाँझो जग्गामा व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेर पर्याप्त आम्दानी लिन थालेकी हुन्।
गाउँमा बसाइसराइका कारण प्रयोगविहीन बनेका जग्गालाई सदुपयोग गर्ने उद्देश्यले उनले स्थानीयको सहमतिमा रु. पाँच हजारमा तीन रोपनी जग्गा भाडामा लिएर हाइब्रिड जातको सयपत्री फूल खेती गरेकी छन् । भारतको गोरखपुरबाट रु. ८० हजारको बीउ ल्याएर सुरु गरेको उनको व्यवसाय अहिले आम्दानीसँगै गाउँमा कृषि उद्यमको गतिलो उदाहरणसमेत बनेको छ ।
महत्राले उत्पादन गरेका फूलको बजार व्यवस्थापनमा कुनै समस्या छैन । स्थानीय बलेटक्सारस्थित पैँचो पसलले उनले उत्पादन गरेका सबै फूल खरिद गर्दै आएको छ । पैँचो पसलले उनले उत्पादन गरेको फूल थोकमा प्रतिकिलो रु. २२० का दरले १५ क्विन्टल फूल खरिद गरेर लगिसेको छ ।
महत्राले थोकमा प्रतिकिलो रु. २२० र खुद्रामा रु. २५० का दरले फूल बिक्री गर्दै आएकी छन् । गत वर्ष मात्रै उनले रु. तीन लाख ५० हजारको फूल बिक्री गरेकी थिइन् । यस वर्ष उत्पादन राम्रो भएकाले आम्दानीसमेत थप बढ्ने महत्राको भनाइ छ ।
सयपत्री फूलको खेती सुरु गरेको करिब ९० दिनमा उत्पादन लिन सकिने महत्रा बताउँछिन्। एक महिना जति मल्चिङ गरेर राख्ने र त्यसपछि ब्याडमा बिरुवा तयार गरेपछि रोप्ने गरिन्छ । बिरुवालाई आवश्यक मल, पानी र नियमित स्याहार गर्न सके पर्याप्त उत्पादन लिन सकिने उनी बताउँछिन् ।
अन्य कृषि उपजको तुलनामा फूल खेतीमा कम जोखिम र मनग्य आम्दानी हुने महत्राको अनुभव छ । बाँदरले पनि हानी नोक्सानी नगर्ने र चाँडै कुहिएर खेर नजाने भएका कारण फूल खेतीप्रति आकर्षण बढेको उनले बताइन् । फूलमा डढेलो लाग्ने, मुन्टा मर्ने तथा किरा र पुतलीको प्रकोप देखिने समस्या भए पनि समयमै मलजल, भिटामिन र आवश्यक औषधि प्रयोग गरेर नियन्त्रण गर्न सकिने महत्राको भनाइ छ ।
महत्राको बारीमा ढकमक्क फुलेका सयपत्री फूलले उत्पादन र आम्दानी मात्रै बढाएका छैनन्, गाउँको आकर्षणसमेत बढाएका छन् । फूलबारीमा तस्बिर खिच्न र टिकटक बनाउन आउनेको समेत घुइँचो लाग्ने गरेको छ ।
महत्राको व्यवसायमा उहाँको परिवारजनको पनि साथ रहेको छ । उनको व्यवसायलाई श्रीमान् र छोराबुहारीले पनि सघाउँदै आएकी छन् । गाउँमा प्रशस्त बाँझो जग्गा र कृषि सम्भावना रहेकाले विदेश जानुभन्दा स्वदेशमै मेहनत गर्न सके आत्मनिर्भर बन्न सकिने महत्राको विश्वास छ । मनमा इच्छाशक्ति, परिश्रम र उद्यमशीलता भए गाउँमै बसेर मनग्य आम्दानी गर्न सकिने उनले बताइन् ।
स्थानीयको माग अनुसार अझै तीन क्विन्टल जति फूल तिहारका लागि राखिदिएको महत्राले बताइन्। उनले उत्पादन गरेको फूल प्रतिकिलो रु. २२० का दरले बिक्री गर्दा यस वर्ष फूलबाट मात्रै रु. तीन लाख ९६ हजार आम्दानी हुने देखिन्छ । गत वर्ष रु. तीन लाख ५० हजारको फूल बिक्री गरेकी महत्राले यस वर्ष त्यो भन्दा बढी आम्दानी हुने बताइन् ।





