काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले सङ्घीयतालाई बचाउन नसकिने बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको बताए। उनले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने र जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानै पर्ने स्थिति विकराल बन्दै गएको बताए।
उनले निर्वाचन लडिनसक्नु रहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरूले थुपारेको टिप्पणी गरे। उनले राजनीति पार्टीहरूप्रति, नेता, सांसद, मन्त्रीहरूप्रति जनताको आस्था नरहेको उल्लेख गरे।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्वीट्जरल्याण्ड बन्छ। भयो त त्यस्तो ? देशमा उद्योग कलकारखाना खोल्नुनपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने, कारखाना यो संघीय प्रणालीअनुसार खोलेको केको लागि भन्दा मन्त्री बन्नका लागि।
देशमा मन्त्रीको संख्या बढी भयो भने सांसदको संख्या बढी भयो भने त्यो देशको अर्थतन्त्रले धान्छ ? कुन प्रधानमन्त्रीले, कुन अर्थमन्त्रीले देशमा भ्रष्टाचार अन्त्य गर्नुहुन्न ? त्यसलाई बढाउनुपर्छ भनेर कसले भनेको छ ? तर वास्तवमा व्यवहारमा के छ ? अहिले पनि देश बेवारिसे नै छ।’
उनले भने, ‘राजनीति पार्टीहरूप्रति, नेता, सांसद, मन्त्रीहरूप्रति जनताको आस्था छैन। पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्नु भने हामीले देश जोगाउन सक्दैनौँ। सङ्घीयता जोगिनै सक्दैन।’
अध्यक्ष केसीले न्यायालयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबै कुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताए। उनले नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भएको टिप्पणी गरे।