काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चुनावका विषयमा नेताहरूको धारणा माग गरेका छन् ।
बिहीबार सुरु भएको स्थायी समिति बैठकमा उनले राष्ट्रपति निर्वाचनमा पार्टीले के निर्णय लिने भन्ने विषयमा धारणा मागेका एक स्थानीय समिति सदस्यले बताए ।
‘सरकार निर्माण गर्दा एमालेले राष्ट्रपति लिने बुझाइ बनेको थियो,’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै ती स्थायी समिति सदस्यले भने, ‘तर, यसबारे अहिले गम्भीर प्रश्नहरू उठिरहेका छन् । यसबारे के गर्ने भन्नेमा तपाईँहरूले राय दिनुपर्छ । यही समितिबाट केही न केही निर्णय गर्नुपर्छ ।’ नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बने पनि प्रचण्डलाई नेपाली काँग्रेसले समेत विश्वासको मत दिएको थियो ।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूको बैठक बोलाएर राष्ट्रपति चुनावका विषयमा छलफल गरेका थिए । माओवादीका कतिपय नेताहरुले राष्ट्रिय सहमतिमा आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै स्थायी समिति सदस्य देवेन्द्र पौडेलले यसमा काँग्रेससित समेत सहमति खोज्नुपर्ने बताए ।







