काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले राज्यको संरचनामा नयाँ नयाँ प्रविधिलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ-नयाँ कुराहरूलाई बुझ्न सक्ने मान्छे हुनुपर्ने बताएका हुन्। उनले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताए।
उनले राज्यले कुनै पनि प्रकारका प्रविधिहरूको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए। प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्नेरु सुरक्षा नीति के हुनेरु लगायतको विषयमा विशेष रूपमा ध्यान पुर्याउनुपर्ने बताए। उनले प्रविधिहरूको प्रयोग गर्दै गर्दा त्यसको सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्ने बताए।
उनले भने, ‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्न सक्ने मान्छे हुनुपर्यो। नयाँ प्रविधिलाई। हामीकहाँ उदाहरणहरू छन् छिमेकी मुलुकहरूमा कम्प्युटर प्रयोग गर्न हुन्न भन्ने खालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शीर्षस्थ स्थानमा हुनुहुन्थ्यो। यो किन हुन्छ भन्दा खेरी सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिदाखेरी हाँस्यास्पद स्थितिहरू पनि हामीले देख्ने गरेका छौँ। त्यसको उपाय एउटै हो हामीले सुरक्षाको प्रत्याभूति दिलाउन सक्नुपर्यो। विश्वसनीयताको प्रत्याभूति पनि दिलाउन सक्नुपर्यो। त्यो कुराहरूमा आश्वस्त पार्न सक्यो भने नयाँ नयाँ प्रविधिहरूलाई सरकारलाई अङ्गीकार गर्न सहज हुनेछ।’
उनले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे। विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए।







