काठमाडौँ। नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभाका पूर्वसदस्य प्रेम सुवालले भ्रष्टाचारमार्फत राज्यलाई कमजोर बनाउने र आन्दोलनका नाममा सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रवृत्ति दुवै देशका लागि हानिकारक भएको बताएका छन्।
नेपाल संवत् ११४७ को नयाँ वर्षका अवसरमा भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्यालीलाई सम्बोधन गर्दै सुवालले पुराना तथा नयाँ राजनीतिक शक्तिको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्।
उनले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीसहितका पुराना दलमाथि भ्रष्टाचारका माध्यमबाट मुलुकलाई कमजोर बनाएको आरोप लगाए। त्यस्तै, नयाँ राजनीतिक शक्तिहरूलाई भदौ २३ र २४ गतेका घटनामा भएका आगजनी तथा विध्वंससँग जोड्दै उनले त्यस्ता गतिविधिबाट देशको विकास सम्भव नहुने दाबी गरे।
सुवालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्व स्वयं जवाफदेही हुनुपर्नेमा जोड दिए। सुशासन कायम गर्ने प्रतिबद्धता सरकारको नेतृत्वबाटै व्यवहारमा लागू हुनुपर्ने भन्दै उनले प्रधानमन्त्रीबाटै भ्रष्टाचार नियन्त्रणको सुरुवात गर्नुपर्ने धारणा राखे।
भ्रष्टाचारको जालो उच्च राजनीतिक तहसम्म फैलिएको दाबी गर्दै उनले करिब १७ वर्षअघि भक्तपुर मालपोत कार्यालयमा भएको एउटा प्रसङ्गसमेत सुनाए। तत्कालीन मन्त्रीको निरीक्षणका क्रममा कार्यालयका प्रमुखले घुसको रकम प्रधानमन्त्रीसम्म पुग्ने गरेको बताएको दाबी उनले गरे। यद्यपि उक्त घटनाको स्वतन्त्र पुष्टि भएको छैन।
राजनीतिक दलहरूबीच सत्तास्वार्थका विषयमा सहकार्य हुने तर राष्ट्रिय सरोकारका मुद्दामा पर्याप्त आवाज नउठ्ने गरेको उनको आरोप थियो। सीमा अतिक्रमण र भ्रष्टाचारजस्ता विषयमा प्रमुख राजनीतिक दलहरूको भूमिकाप्रति प्रश्न उठाउँदै उनले राजनीतिक नेतृत्वले जनताको हितलाई प्राथमिकता दिनुपर्ने बताए।
आफ्नो पार्टीको चुनावी परिणामबारे टिप्पणी गर्दै सुवालले नेपाल मजदुर किसान पार्टीको पराजयलाई जनताको हितमा उठाइएका मुद्दाहरू कमजोर हुने अवस्थासँग जोडे। उनले पार्टीले राष्ट्रिय स्वाधीनता, भ्रष्टाचार नियन्त्रण र जनसरोकारका विषयमा निरन्तर आवाज उठाउँदै आएको दाबी गरे।
नेपाल भाषा साहित्य त:मुंज्या तथा सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न सांस्कृतिक समूहको सहभागिता थियो। भक्तपुरको सूर्यमढी र टौमढीबाट सुरु भएको र्यालीमा परम्परागत बाजागाजासहित ठूलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए।





