काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकमा व्यवस्थाहरू फेरिए पनि जनताको अवस्था नफेरिएको बताएका छन् । आज बागलुङमा आयोजित राष्ट्रिय जनमोर्चाको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले स्वार्थको राजनीतिले गर्दा नागरिकको अवस्था जस्ताको त्यस्तै रहेको बताए।
प्रतिनिधि सभा सदस्यसमेत रहेका केसीले सत्ताको लडाइँले जनता मारमा परिरहेको भन्दै लामो समय लडेर ल्याएको उपलब्धि विभिन्न शक्तिहरू सकाउने खेलमा लागेको बताए । गाउँमा बस्ने सर्वसाधारणलाई गणतन्त्र गएर लोकतन्त्र आएर केही फरक नै पार्न नसकेको अध्यक्ष केसीको भनाइ छ ।
“प्रणाली फेरियो, राणा शासनको ठाउँमा राजा शासन आयो, पञ्चायती व्यवस्थाका ठाउँमा गणतन्त्र आयो, सङ्घीयता आयो तर नेपाली जनताको अवस्थामा परिवर्तन आएन”, उनले भने ।
राजनीति गर्नेहरूले देश र जनताको लागि नभई आफ्नो स्वार्थका लागि गर्ने गरेकाले आम नागरिकको जीवनमा परिवर्तन हुन नसकेको उनले दाबी गरे ।







