काठमाडौँ । सरल र सहज सेवा प्रवाहका लागि सुरु भएको ‘टाइम कार्ड’ प्रणाली प्रभावकारी बनेको छ । ‘टाइम कार्ड’ लागू भएका सरकारी कार्यालयहरूमा भिडभाड घटेको छ भने सेवाग्राही घण्टौँसम्म लाइनमा बस्नु पर्ने बाध्यता पनि हटेको छ ।
सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन सरकारले गत पुसदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरेको हो । लामो समयसम्म लाइनमा बस्दा सेवाग्राहीले सास्ती भोग्नु परेको भन्दै सरकारी सेवाहरू तोकिएको समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ लागू भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सुरु भएको ‘टाइम कार्ड’ प्रणाली अहिले धेरै भिडभाड हुने अन्य कार्यालयमा क्रमशः लागू हुँदै गएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, रुपन्देहीलगायतका जिल्ला प्रशासन कार्यालयमा ‘टाइम कार्ड’ लागू भएको छ ।
२१ पुसमा चार वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौँले अहिले १२ वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, संस्था नवीकरण, नाबालिग परिचयपत्र, मुद्दाको पेशी र तारिख दिने, हातहतियार नवीकरणलगायतका १२ सेवामा ‘टाइम कार्ड’ लागू भएको छ ।
‘टाइम कार्ड’ लागू भएपछि कार्यालयमा हुने भिडभाड हटेको छ । सेवाग्राही लामो समय लाइन बस्नु पर्दैन । ‘टाइम कार्ड लागू नहुँदा सेवाग्राहीको लाइन बबरमहल र सिंहदरबार दक्षिण गेटसम्म पुग्थ्यो । अहिले लामो लाइन छैन,’ प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले भने, ‘सेवाग्राही बिहान ४ बजे नै आएर लाइन बस्नु हुन्थ्यो । ‘टाइम कार्ड’ लागू भएपछि त्यस्तो अवस्था छैन ।’ ‘टाइम कार्ड’ले राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा व्यवस्थापनमा सहजीकरण भएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले पनि नागरिकता र राहदानीमा ‘टाइम कार्ड’ लागू गरेको छ । २४ पुसबाट लागू भएको ‘टाइम कार्ड’ प्रणालीले सेवामा गुणस्तर वृद्धि भएको कार्यालयले जनाएको छ । ‘पहिले दैनिक ९० जनाको राहदानीको काम हुन्थ्यो भने ‘टाइम कार्ड’ लागू भएपछि दैनिक १४० जनासम्मको राहदानीको काम हुने गरेको छ,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने । उनका अनुसार नागरिकताको हकमा सबै प्रक्रिया पूरा भएकाको हकमा ‘टाइम कार्ड’ नै नचाहिने व्यवस्था छ ।
गत पुसमा ‘टाइम कार्ड’ लागू गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्र, नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, सङ्घसंस्था दर्ता नवीकरण लगायतका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । ‘टाइम कार्ड’ लागू भएपछि सेवा प्रदायक र सेवाग्राही दुवैलाई सहज भएको सहायक प्रमुख जिल्ला अधिकारी अमर दीप सुनुवारले बताए । ‘टोकन दिँदै गर्दा सेवा प्राप्त गर्ने समय तोकिएको हुन्छ । जसका कारण सेवाग्राही तोकिएकै समयमा आउनु हुन्छ,’ उनले भने, ‘मेरो पालो यति बेला आउँछ भन्ने थाहा भएपछि उहाँहरू लाइनमा बसी रहनु पनि पर्दैन ।’ उनका अनुसार कार्यालयमा सेवाग्राहीको एकै पटक भीड हुँदैन र आफ्नो पालो अनुसार आउने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि गत माघ ५ गतेदेखि चार वटा सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ । नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र विद्युतीय राहदानीमा ‘टाइम कार्ड’ लागू भएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार सेवाग्राहीलाई टोकन दिँदा नै तपाईँको काम यति समय भित्र सम्पन्न हुन्छ, तपाईँ त्यतिन्जेल प्रतीक्षा गरेर बस्नु होला भन्ने गरिन्छ । ‘टाइम कार्ड लागू हुनुभन्दा अघि कागजात पेस गरेपछि सेवा कति समयमा पाइने हो ? कुन सेवा कुन शाखाबाट पाइने हो ? भन्नेमा सेवाग्राही अलमलमा पर्नु हुन्थ्यो,’ अर्यालले भने, ‘अहिले त्यस्तो अन्योल हुँदैन ।
नयाँ नागरिकताको हकमा प्रमाण पुर्याएर १२ बजेभित्र पेस हुन आएमा १ बजेभित्र र १२ देखि ३ बजेसम्म पेस हुन आएमा ३ देखि ४ बजेसम्म नागरिकता उपलब्ध गराउने गरिएको छ । यस्तै नागरिकताको प्रतिलिपिको हकमा प्रमाण पुर्याइ पेस हुन आएको निवेदनमा अभिलेख भिडेको एक घण्टाभित्र प्रतिलिपि उपलब्ध गराउने गरिएको छ । अर्यालका अनुसार राष्ट्रिय परिचयपत्रको हकमा अनलाइन फारम भरेर पेस हुन आएको निवेदकलाई एक घण्टाभित्र उपलब्ध गराउने गरिएको छ । यस्तै विद्युतीय राहदानीको हकमा प्री इन्भल्बमेन्टको फारम भरिएकाको सोही दिन तोकिएको समयमा उपलब्ध गराउने गरिएको छ । अर्यालले भने, ‘टाइम कार्ड लागू भएपछि सेवा प्रवाह पनि सजिलो भएको छ । सेवाग्राही पनि सन्तुष्ट छन् ।’
जिल्ला प्रशासन कार्यालयहरूका अनुसार ‘टाइम कार्ड’ लागू भएपछि सेवा प्रवाह प्रभावकारी भएको छ । कार्यालयहरूमा एकै समयमा सेवाग्राहीको भिड पनि छैन । पहिलेकै जनशक्तिबाट व्यवस्थित रूपमा सेवा प्रवाह गर्न सकिएको र व्ययभार पनि नथपिएको कार्यालयहरूको भनाइ छ ।







