काठमाडौँ । होटेल सङ्घ नेपालले मौद्रिक नीतिको समीक्षालाई स्वागत गरेको छ । समीक्षामार्फत समस्याग्रस्त होटेल क्षेत्रलाई कर्जा व्यवस्थापनमा राहत दिने उद्देश्यले २०८० असार मसान्तसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने गरी नेपाल राष्ट्र बैंकले घोषणा गरेको छ । यसप्रति होटेल व्यवसायीले नेपाल राष्ट्र बैंकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
सङ्घको काठमाडौँमा सम्पन्न कार्यकारिणी परिषद् बैठकले मौद्रिक नीतिको समीक्षामा गरिएका प्रावधान स्पष्ट र सरल ढङ्गमा छिटोभन्दा छिटो लागु गर्न कार्यविधि र निर्देशिका बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिनुपर्ने माग गरेको छ । घोषित नीति र निर्देशन सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट हुबहु कार्यान्वयनको वातावरण बनाउन समेत सङ्घले माग गरेको छ ।
सङ्घले यस अघि भएका यस्तै समीक्षामा घोषित नीति तथा निर्देशनहरू लागु गर्न कार्यविधि र निर्देशिका जारी गर्न ढिलाइ तथा बैंक तथा वित्तीय संस्थाहरूका सम्बन्धित सञ्चालक समितिहरूबाट समेतको निर्णय देखाएर फरक र ढिलो गर्ने व्यवहार भएको समेत सङ्घको भनाइ छ ।
सङ्घले एकल अङ्कको ब्याजदरको माग गर्दै आएको छ ।